CLI

खामेनेईको मृत्यु पछि इरानमा नयाँ सर्वोच्च नेता चयन प्रक्रिया सुरु, ट्रम्पले चयनमा आफ्नो भूमिका चाहेको संकेत

काठमाडौं । इरानका सर्वोच्च नेता आयातोल्लाह अली खामेनेईको मृत्यु भएपछि देशमा नयाँ सर्वोच्च नेता चयनबारे प्रक्रिया सुरु भएको छ। तर हाल इरान–इजरायल तथा अमेरिका बीच जारी सैन्य द्वन्द्वका कारण यो प्रक्रिया कसरी अगाडि बढ्ने भन्ने विषय अझै स्पष्ट हुन सकेको छैन।

इरानको संविधानअनुसार देशको सर्वोच्च नेता चयन गर्ने अधिकार ‘असेंब्ली अफ एक्सपर्ट्स’ नामक परिषद्लाई रहेको छ। ८८ जना धार्मिक विद्वान् सदस्य रहेको उक्त परिषद्ले नयाँ सर्वोच्च नेता चयन गर्ने जिम्मेवारी पाएको छ।

परिषद्का सदस्य आयातोल्लाह मोजाफ्फरीले स्थानीय सञ्चारमाध्यमसँग कुरा गर्दै आगामी २४ घण्टाभित्र नयाँ सर्वोच्च नेता चयनबारे बैठक बस्न सक्ने आशा व्यक्त गरेका छन्। तर हालसम्म आधिकारिक रूपमा बैठक बसेको वा कुनै निर्णय भएको जानकारी सार्वजनिक गरिएको छैन।

यसअघि परिषद्का केही स्रोतहरूलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले खामेनेईका छोरा मोज्तबा खामेनेईलाई नयाँ सर्वोच्च नेताका रूपमा अघि सार्नेबारे छलफल भएको बताएका थिए। शनिबार भएको भनिएको बैठकमा कम्तीमा १४ सदस्यले बहिष्कार गरेको समेत जनाइएको छ।

यसअघि शुक्रबार बोलाइएको अर्को बैठक अमेरिकी तथा इजरायली आक्रमणको सम्भावित जोखिमका कारण पूर्ण रूपमा सम्पन्न हुन नसकेको बताइएको छ।

यता अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको नयाँ नेतृत्व चयनबारे आफूले पनि भूमिका खेल्न चाहेको संकेत दिएका छन्। उनले पत्रकारहरूसँग कुरा गर्दै भविष्यमा बारम्बार युद्धको स्थिति दोहोरिन नदिने किसिमको नेतृत्व आवश्यक रहेको बताएका छन्।

ट्रम्पले भने, “हामी प्रत्येक पाँच वा दस वर्षमा फेरि यस्तो युद्धको अवस्थामा फर्कन चाहँदैनौँ। त्यसैले इरानलाई युद्धतर्फ धकेल्ने नेतृत्व होइन, शान्ति ल्याउने नेतृत्व चाहिन्छ।”

उनले खामेनेईका छोरा मोज्तबा खामेनेईलाई सम्भावित नयाँ नेता बनाउने प्रस्ताव आफूलाई स्वीकार्य नहुने पनि बताएका छन्। ट्रम्पका अनुसार इरानको नयाँ नेतृत्वले क्षेत्रीय स्थायित्व र शान्तिमा योगदान पुर्‍याउन सक्ने व्यक्ति हुनुपर्छ।

हाल अमेरिका, इजरायल र इरानबीच जारी तनावपूर्ण अवस्थाबीच इरानको नयाँ सर्वोच्च नेता को बन्ने भन्ने विषय अन्तर्राष्ट्रिय समुदायको चासोको केन्द्र बनेको छ।

Leave Your Comment

Related News