काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनको जारी मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) हालसम्म १२४ क्षेत्रमा विजयी भएको छ । सोमबार १ : ३५ बजेसम्मको परिणामअनुसार रास्वपाका उम्मेदवारले १२४ स्थानमा जित र १ निर्वाचन क्षेत्रमा अग्रता हासिल गरिरहेका छन् ।
निर्वाचन आयोगका अनुसार हालसम्म १६१ स्थानको मतगणना सार्वजनिक भएकामा नेपाली कांग्रेसले १७ क्षेत्रमा जित हासिल गरेको छ भने १ स्थानमा अग्रता कायम गरेको छ । नेकपा (एमाले ) ले ८ स्थानमा विजयी हुँदा १ स्थानमा अगाडि रहेको छ ।
आयोगका अनुसार नेपाली कम्युनिष्ट पार्टीका तर्फबाट हालसम्म ७ उम्मेदवार विजयी भएका छन् । यस्तै, श्रम संस्कृति पार्टीका ३ जना उम्मेदवार विजयी भएका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टी र स्वतन्त्र उम्मेदवार एक–एक स्थानमा विजयी भएका छन् ।
समानुपातिकतर्फ
आयोगका अनुसार रास्वपाले ४२ लाख ७३ हजार ६९२, नेपाली कांग्रेसले १४ लाख २२ हजार १७३ , एमालेले ११ लाख ९९ हजार ०६८ र नेपाली कम्युनिष्ट पार्टीले ६ लाख ३२ हजार ४९३ मत प्राप्त गरेको छ । श्रम संस्कृतिले ३ लाख ०८ हजार ५७१ र राप्रपाले २ लाख ८९ हजार ८३४ र जसपाले १ लाख ३५ हजार ६४३ मत प्राप्त गरेको छ ।


