CLI

सभापतिबाट राजीनामा नदिन थापालाई ललितपुरका जनप्रतिनिधिको आग्रह

काठमाडौं । ललितपुर जिल्लाबाट स्थानीय तहमा नेपाली कांग्रेसबाट निर्वाचित जनप्रतिनिधिले सभापति गगनकुमार थापालाई सभापतिबाट राजीनामा नदिन आग्रह गरेका छन् ।

ललितपुरमा नेपाली कांग्रेसबाट निर्वाचित जनप्रतिनिधिले आज संयुक्त प्रेस विज्ञप्ति जारी गरी वर्तमान जटिल राजनीतिक अवस्थामा थापाको नेतृत्व र अभिभावकत्व पार्टीका लागि अपरिहार्य रहेको बताएका हुन् ।

नेपाली कांग्रेसको गरिमामय इतिहास, वर्तमान राजनीतिक चुनौती, राष्ट्रियता र लोकतन्त्रको संरक्षणका साथै समसामयिक राजनीतिमा निर्वाह गर्नुपर्ने प्रभावकारी भूमिकाका लागि थापा योग्य व्यक्तित्व भएको विज्ञप्तिमा उल्लेख छ ।

जनप्रतिनिधिहरूले पछिल्लो समय चर्चामा आएको सभापतिको राजीनामाको विषयलाई पूर्णतः नकार्दै पार्टीको सुदृढीकरणका लागि नेतृत्वको निरन्तरताको खाँचो औंल्याएका छन् । ऐक्यबद्धता जनाउनेमा ललितपुर जिल्ला समन्वय समिति प्रमुख ऋषिदेव फुँयाल, ललितपुर महानगरपालिका प्रमुख चिरीबाबु महर्जन, गोदावरी नगरपालिका प्रमुख गजेन्द्र महर्जन र बागमती गाउँपालिकाका अध्यक्ष वीरबहादुर लोप्चनलगायत छन् ।

Leave Your Comment

Related News