CLI

प्रतिनिधि सभा सदस्य निर्वाचनमा रास्वपा बन्यो पहिलो दल

काठमाडौं । प्रतिनिधि सभा सदस्य निर्वाचनको प्रत्यक्षतर्फ एक सय २५ सिटमा विजयी हुँदै पहिलो पार्टी बनेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) समानुपातिकतर्फ पनि पहिलो बन्न पुगेको छ ।

निर्वाचन आयोगका अनुसार प्रत्यक्षतर्फ पहिलो हुने निर्वाचित प्रणाली अर्थात् प्रत्यक्षतर्फ एक सय ६४ सिटको प्रतिस्पर्धामा रास्वपाले एक सय २५ सिटमा जित हासिल गरेको हो भने समानुपातिकतर्फ पनि ५१ लाख ६७ हजार चार सय २९ मत प्राप्त गर्दै पहिलो भएको छ ।

आयोगका अनुसार बुधबार समानुपातिकतर्फको एक करोड आठ लाख चार हजार सात सय एक मत गणना भएको हो । जसमा रास्वपाले ५१ लाख ६७ हजार चार सय २९ मत प्राप्त गर्दै पहिलो भयो भने नेपाली कांग्रेस १७ लाख ५७ हजार सात सय ८९ मतसहित दोस्रो र नेपाल कम्युनिस्ट पार्टी (एमाले) १४ लाख ५३ हजार सात सय ८९ मतसहित तेस्रो भयो । त्यसपछि क्रमशः नेपाली कम्युनिस्ट पार्टीले आठ लाख १० हजार चार सय ७९, श्रम संस्कृति पार्टीले तीन लाख ८५ हजार आठ सय छ मत, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले तीन लाख ३० हजार तीन सय ८६ मत प्राप्त गरेको छ । बाँकी अन्य दलले भने थ्रेसहोल्ड कटाउन सकेका छैन ।

प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन २०७४ को दफा ६० (११)को व्यवस्थाअनुसार सदर मतको तीन प्रतिशत कटाउने दलले मात्र समानुपातिकमा सिट पाउने व्यवस्था छ । राष्ट्रिय दलको मान्यता पाउन भने प्रत्यक्षतर्फ पनि कम्तीमा एक सिट जित्नुपर्नेछ । उक्त दफामा भनिएको छ, ‘अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि समानुपातिक निर्वाचन प्रणालीतर्फको कुल सदर मतको तीन प्रतिशत वा सोभन्दा बढी मत प्राप्त गर्ने दलको तर्फबाट मात्र उम्मेदवार निर्वाचित हुने छ ।’

राजनीतिक दलसम्बन्बन्धी ऐन, २०७३ को दफा ५२ अनुसार प्रत्यक्षको कम्तीमा एक सिट र तीन प्रतिशत थ्रेसहोल्ड कटाएर सिट पाउने दलले मात्र राष्ट्रिय दलको मान्यता पाउनेछन् । थ्रेसहोल्ड कटाए प्रत्यक्षमा एक सिट नजिते पनि सम्बन्धित दलको मतअनुसारको सिट पाउनेछ ।

जनता समाजवादी पार्टी (जसपा), राष्ट्रिय परिवर्तन पार्टी, जनमतलगायतका पार्टीले थ्रेसहोल्ड कटाउन सकेनन् । जसपाले एक लाख ७९ हजार तीन सय ९७, राष्ट्रिय परिवर्तन पार्टीले एक लाख ७२ हजार दुई सय ४३, जनमत पार्टीले ७९ हजार दुई सय २५, एकल चिह्न चकिया (जाँतो, राष्ट्रिय मुक्ति पार्टी नेपाल, जनता समाजवादी पार्टी, नागरिक उन्मुक्ति पार्टी, नेपाल)ले ६१ हजार छ सय ७७, नेपाल मजदुर किसान पार्टीले ४२ हजार दुई सय ४६ र राष्ट्र निर्माण दल नेपालले ३८ हजार नौ सय ३३ मत प्राप्त गरेको आयोगले जनाएको छ ।

राष्ट्रिय जनमोर्चाले २९ हजार चार सय ४२, एकल चिह्न बस (नेपाल सङ्घीय समाजवादी पार्टी, बहुजन एकता पार्टी नेपाल, नेपाल जनता संरक्षण पार्टी)ले २८ हजार एक सय ७८, प्रगतिशील लोकतान्त्रिक पार्टीले २४ हजार छ सय १७, नेपाल कम्युनिस्ट पार्टी (माओवादी)ले २३ हजार आठ सय ५१, मंगोल नेसनल अर्गनाइजेसनले २० हजार आठ सय छ , एक चिह्न मोबाइल (आम जनता पार्टी, जनादेश पार्टी नेपाल)ले १३ हजार चार सय ४५ मत प्राप्त गरेका हो ।

त्यस्तै आयोगका अनुसार राष्ट्रिय मुक्ति आन्दोलन नेपालले १० हजार छ सय ९५, संयुक्त नागरिक पार्टीको नौ हजार एक सय २८, स्वाभिमान पार्टीको आठ हजार एक सय ५२, राष्ट्रिय जनमुक्ति पार्टीको सात हजार दुई सय नौ, नेपाल जनता पार्टीको सात हजार एक सय ५९ , राष्ट्रिय एकता दलको सात हजार ६४, नेपाल कम्युनिष्ट पार्टी (माक्र्सवादी–लेलिनवादी) ले छ हजार एक सय ६७ , राष्ट्रिय गौरव पार्टीले पाँच हजार दुई सय ४४, नेसनल रिपब्लिक नेपालले पाँच हजार एक सय ५९, नेपालका लागि नेपाली पार्टीले पाँच हजार ११, नेपाल कम्युनिस्ट पार्टी माक्र्सवादी (पुष्पलाल)ले चार हजार आठ सय २९, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चले चार हजार छ सय ७४, गतिशील लोकतान्त्रि पार्टीले चार हजार छ सय ४२, नेपाल कम्युनिस्ट पार्टी (संयुक्त)ले चार हजार पाँच सय १०, राष्ट्रिय ऊर्जा पार्टी नेपालले चार हजार तीन सय १६, समावेश समाजवादी पार्टी नेपालको चार हजार दुई सय ७४, नेपाल लोकतान्त्रिक पार्टीले चार हजार एक सय १२ मत प्राप्त गरेका छन् ।

नेपाल मातृभूमि पार्टीले तीन हजार दुई सय २५, राष्ट्रिय जनता पार्टी नेपालको दुई हजार नौ सय ३१, बहुजन शक्ति पार्टी नेपालको दुई हजार सात सय ६१, नेपाल जनमुक्ति पार्टीले दुई हजार एक सय ६८, जनअधिकार पार्टीले दुई हजार एक सय १०, नेपाल सद्भावना पार्टीले दुई हजार १५, पिपलु फस्र्ट पार्टी एक हजार सात सय ९९ र नेपाली कांग्रेस (बीपी) एक हजार सात सय ८५ र नागरिक शक्ति नेपालले एक हजार सात सय ३० र नेपाली जनश्रमदान संस्कृति पार्टीले एक हजार छ सय ३७ मत प्राप्त गरेका छन् । नेपाली जनता दल, समावेशी समाजवादी पार्टी, जनता लोकतान्त्रिक पार्टी नेपाल, एकल चिह्न जगर भएको सिंह (सचेत नेपाली पार्टी, नागरिक सर्वाेच्चता पार्टी नेपाल) र जनप्रिय लोकतान्त्रिक पार्टीले दुई हजारभन्दा कम मत प्राप्त गरेका आयोगले जनाएको छ । राजनीतिक दलसम्बन्धी ऐनअनुरूप प्रत्यक्षतर्फ एक सीट प्राप्त गर्ने र समानुपातिक निर्वाचन प्रणालीतर्फ कम्तीमा तीन प्रतिशत मत प्राप्त गर्ने दल मात्र राष्ट्रिय दलको मान्यता पाउँछन् ।रास्वपा, एमाले, नेपाली क्युनिस्ट पार्टी, श्रम संस्कृति र राप्रपा राष्ट्रिय दलको मान्यता पाउदा बाँकी ५१ वटा दलहरूले पनि राष्ट्रिय दलको मान्यता पाउन सेकन ।

आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले राजनीतिक दलसम्बन्धी ऐन, २०७३ बमोजिम प्रतिनिधिसभा सदस्य निर्वाचनमा समानुपातिक निर्वाचन प्रणालीतर्फ कम्तीमा तीन प्रतिशत मत र पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फ एक सिट प्राप्त गर्ने दलले मात्र राष्ट्रिय दलको रूपमा मान्यता प्राप्त गर्न सक्ने बताए ।

प्रत्यक्ष निर्वाचन प्रणालीतर्फ पनि कुल एक सय ६५ सिटमा भएको प्रतिस्पर्धामा रास्वपाले एक सय २५ सिटमा जित हासिल गर्दै पहिलो दल बनेको हो । रास्वपा पछि क्रमशः नेपाली कांग्रेसले १८, एमालले नौ, नेपाली कम्युनिस्ट पार्टीले आठ, श्रम संस्कृति पार्टीले तीन, राप्रपाले एक र स्वतन्त्रले एक सिट प्राप्त गरेका छन् । स्वतन्त्रतर्फ भने महाविर पुन विजयी भएका हुन् ।

रास्वपाले कोशीमा १७, मधेशमा ३०, बाग्मतीमा ३१, गण्डकीमा १५, लुम्बिनीमा २१, कर्णालीमा एक र सुदूरपश्चिममा १० गरी कुल एक सय २५ सिटमा जित हासिल गरेको हो । रास्वपामा सबैभन्दा बढी कोशीबाट मत बालेन्द्र शाह (बालेन)ले ६८ हजार तीन सय ४८, कोशीबाट नै इन्दिरा राना मगरले ६० हजार एक सय १०, लुम्बिनीका डा. लेखजंग थापले ५८ हजार आठ सय १४, बागमतीबाट सोविता गौतमले ५९ हजार दुई सय ७७ मत प्राप्त गरेका हुन् । बागमीतबाट रास्वपाका सभापति रावि लामिछानेले ५४ हजार चार सय दुई र बागमतीबाटै बदन कुमार भण्डारीले पनि ५३ हजार तीन सय ४४ मत प्राप्त गरेका छन् ।

प्रत्यक्ष र समानुपातिक मत गरी रास्वपा झण्डै दुई तिहाइ नजिक रहेको छ । प्रत्यक्षमा एक सय २५ सिट र समानुपातिकमा ५७ सिट गरी रास्वपाले कुल एक सय ८२ सिट पुग्ने भएको छ । योसँगै रास्वपा दुई तिहाइ बहुमतबाट मात्र दुई सिट अपुगमा रहेको छ । दुई सय ७५ सदस्यीय प्रतिनिधि सभामा दुई तिहाइका लागि एक सय ८४ सिट आवश्यक पर्छ । कांग्रेसको १८ सिट प्रत्यक्ष र समानुपातिक २० गरी कुल ३८ सिट हुनेछ भने एमालको प्रत्यक्ष नौ सिट र समानुपातिकमा १६ सिट गरी कुल २५ सिट पुग्नेछ । नेपाली कम्युनिस्ट पार्टीले प्रत्यषमा आठ सिट र समाुपातिकमा नौ सिट गरी कुल १९ सिट र श्रम संस्कृतिले प्रत्यक्ष तीन र समानुपातिक चार सिट गरी कुल सात सिट पाउनेछ । राप्रपाले प्रत्यक्ष एक सिट र समानुपातिकतर्फ चार गरी कुल पाँच सिट प्राप्त गर्नेछ ।

Leave Your Comment

Related News