काठमाडौं । परराष्ट्रमन्त्री बालानन्द शर्माले मध्यपूर्व लगायत विश्वका विभिन्न क्षेत्रमा देखिएको अस्थिरता र द्वन्द्वप्रति सरकार गम्भीर र सजग रहेको बताएका छन्।
शनिबार गैरआवासीय नेपाली संघ (एनआरएनए) को १२औँ विश्व सम्मेलनलाई सम्बोधन गर्दै मन्त्री शर्माले द्वन्द्वग्रस्त क्षेत्रमा रहेका नेपाली नागरिकको सुरक्षा र हितलाई सरकारले उच्च प्राथमिकतामा राखेको बताए। पछिल्लो समय मध्यपूर्वमा विकसित घटनाक्रम र त्यसले हवाई सेवामा पारेको प्रभावका कारण नेपाली नागरिकको आवतजावतमा प्रत्यक्ष असर परेको उनले उल्लेख गरे।
‘वर्तमान समयमा विश्वका केही क्षेत्रहरूमा देखिएका अस्थिरता र द्वन्द्वले प्रवासमा रहेका नेपालीहरूको सुरक्षाप्रति चिन्ता बढाएको छ। नेपाल सरकार यसप्रति सजग छ,’ शर्माले भने, ‘विशेषगरी पश्चिमी एशिया तथा मध्यपूर्व क्षेत्रका विकसित घटनाक्रमहरूका कारण त्यहाँ कार्यरत नेपाली नागरिकहरूको अवस्थाप्रति स्वाभाविक रूपमा हाम्रो चासो बढेको छ। यो क्षेत्रमा हवाई सेवा प्रभावित हुँदा नेपाली नागरिकहरूको आवतजावतमा समेत प्रत्यक्ष प्रभाव परेको यहाँ देखिएको छ।’
सम्भावित आपतकालीन अवस्थामा नागरिकका समस्या तत्काल सम्बोधन गर्न परराष्ट्र मन्त्रालयले ‘इमर्जेन्सी कन्ट्रोल रूम’ (आपतकालीन नियन्त्रण कक्ष) सञ्चालनमा ल्याइसकेको शर्माले जानकारी दिए। कन्ट्रोल रूममार्फत विदेशमा रहेका नेपाली नागरिक र स्वदेशमा रहेका उनीहरूका परिवारबीच मन्त्रालयले सूचना आदानप्रदान र समन्वयको सेतुका रूपमा काम गर्ने मन्त्री शर्माको भनाइ थियो।
‘नेपाल सरकारले विदेशमा रहेका नेपाली नागरिकको सुरक्षा, हित र सहायतालाई उच्च प्राथमिकतामा राख्दै आवश्यक समन्वय र समन्वयात्मक कार्यहरू अघि बढाइएको छ। सम्भावित आपतकालीन अवस्थामा नागरिकको समस्या सम्बोधनका लागि परराष्ट्र मन्त्रालयले ‘इमर्जेन्सी कन्ट्रोल रूम’ सञ्चालनमा ल्याएको छ,’ शर्माले भने, ‘कन्ट्रोल रूममार्फत विदेशमा रहेका नेपाली नागरिकहरू तथा नेपालमा रहनुभएका उहाँका परिवार र आफन्तहरूको बीचमा परराष्ट्र मन्त्रालयले पुनः सेतुको काम गर्नेछ।’
मध्यपूर्वमा रहेका नेपाली नागरिकलाई कुनै समस्या वा कठिनाइ परेमा तत्काल नेपाली राजदूतावासको सम्पर्कमा रहन र आफ्नो अवस्थाबारे जानकारी गराउन अपिल समेत गरेका छन्। ‘पश्चिमी एशिया क्षेत्रमा रहेका नेपाली नागरिकले कुनै समस्या वा कठिनाइको सामना गर्नुपरिरहेको छ भने सोको बारेमा जानकारी राख्न हुन र त्यहाँ रहेको नेपाली राजदूतावासको सम्पर्कमा रहन समेत म यसै मञ्चबाट अनुरोध पनि गर्न चाहन्छु,’ उनले भने।
उनले विषम परिस्थितिमा विदेशमा रहेका नेपाली नागरिकको हकहित संरक्षणका लागि एनआरएनएले गर्दै आएको सहयोग र सहकार्य उल्लेखनीय रहेको बताएका छन्। भूकम्प, बाढीपहिरो जस्ता दैवीप्रकोपदेखि कोभिड-१९ को विश्वव्यापी महामारीसम्म गैरआवासीय नेपालीले पु¥याएको योगदानको स्मरण गर्दै मन्त्री शर्माले आगामी दिनमा पनि यस्तो सहयोग निरन्तर रहने विश्वास व्यक्त गरे।


