काठमाडौं । नेपाल आयल निगमले मुलुकभरका ग्यास उद्योगीलाई आफ्ना विक्रेतालाई बिक्री गरेको ग्यासको विवरण दैनिक रूपमा बिहान १० बजेभित्र अनिवार्य सार्वजनिक गर्न निर्देशन दिएको छ । निगमद्वारा जारी विज्ञप्ति अनुसार हरेक उद्योगले कुन विक्रेतालाई कति परिमाणमा ग्यास पठाइएको हो, त्यसको विवरणका साथै विक्रेताको ठेगाना र सम्पर्क नम्बरसमेत खुलाई तोकिएको समयसीमा भित्रै सार्वजनिक गरी निगमलाई जानकारी गराउनुपर्नेछ ।
हाल मध्यपूर्वमा भइरहेको युद्धका कारण अन्तर्राष्ट्रियस्तरमै पेट्रोलियम पदार्थको आपूर्तिमा चुनौती थपिएको अवस्थामा आन्तरिक बजारलाई व्यवस्थित बनाउन यो समयसीमा तोकिएको हो । यसका साथै, विक्रेताले पनि उपभोक्तालाई बिक्री गरेको ग्यासको रेकर्डमा नाम, सम्पर्क नम्बर र परिमाण स्पष्ट उल्लेख गरी सम्बन्धित उद्योगमार्फत दैनिक रूपमा निगमलाई रिपोर्टिङ गर्नुपर्ने व्यवस्था गरिएको छ ।
आम उपभोक्ताको मागलाई सम्बोधन गर्न निगमले हाल आधा सिलिन्डरर अर्थात् ७.१ केजी ग्यास ९ सय ५५ रुपैयाँमा बिक्री वितरण गर्ने निर्णय गरिसकेको छ । बिहान १० बजेभित्रै सबै विवरण सार्वजनिक हुनुपर्ने छ । यस अनिवार्य नियमले ग्यास वितरण प्रणालीमा पारदर्शिता ल्याउने र उपभोक्ताले सहजै ग्यास प्राप्त गर्न सक्ने विश्वास निगमले लिएको छ ।



