काठमाडौं । ग्लोबल आईएमई बैंकले ग्लोबल मनी विक २०२६ को अवसरमा विद्यार्थी तथा युवालक्षित वित्तीय साक्षरताका कार्यक्रमहरू आयोजना गर्ने भएको छ ।
बैंकले मुलुकका सातवटै प्रदेशमा सप्ताहव्यापी रूपमा विद्यार्थी तथा युवालक्षित वित्तीय तथा डिजिटल साक्षरता कार्यक्रमहरू आयोजना गर्न लागेको हो ।
बैंकले ग्लोबल मनी विक २०२६ को मुख्य नारा ‘स्मार्ट मनी टक्स’लाई आत्मसात् गरी भोलिदेखि २२ मार्चसम्म बैंकका विभिन्न शाखा कार्यालयहरूबाट उक्त कार्यक्रम सञ्चालन गरिने बैंकले जनाएको छ ।
साथै, बैंकले वित्तीय साक्षरतासम्बन्धी विभिन्न सामग्रीहरू उत्पादन तथा प्रकाशन गरी आफ्नो आधिकारिक सामाजिक सञ्जालहरूमार्फत प्रसारण पनि गर्ने बताएको छ ।
वित्तीय साक्षरता अभिवृद्धिका लागि बैंकले हरेक वर्ष आफ्ना शाखा कार्यालयहरूमार्फत विभिन्न कार्यक्रमहरू सञ्चालन गर्दै आइरहेको छ । यस आर्थिक वर्षमा हालसम्म बैंकको ७० भन्दा बढी शाखा कार्यालयहरूले वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरिसकेका छन् ।
साक्षरता कार्यक्रममा बचत, कर्जा, रेमिट्यान्स, डिजिटल बैंकिङ, बीमा, लगानी, अतिरिक्त बैंकिङ सेवाहरू, वित्तीय ठगी र वित्तीय अनुशासनसम्बन्धी विषयवस्तुमा जानकारी गराइनेछ ।
ग्लोबल आईएमई बैंक ग्लोबल फाइनान्सको बेष्ट बैंक अवार्ड २०२४ तथा युरो मनी अर्वाड फर एक्सलेन्स २०२४ अन्तर्गतका दुई विधाबाट नेपालको सर्वश्रेष्ठ बैंकको रुपमा सम्मानित बैंक होे । साथै, ग्लोबल आईएमई बैंक विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघ–संस्थाहरूबाट फरकफरक विधामा सम्मानित भएको छ ।
ग्लोबल आईएमई बैंकले मुलुकभर रहेका ३५२ शाखा कार्यालय, ३७९ एटीएम, १४७ शाखारहित बैंकिङ सेवा, ६८ एक्सटेन्सन तथा राजस्व संकलन काउन्टर तथा तिनवटा वैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी १,००० भन्दा बढी सेवा केन्द्रबाट आफ्ना ग्राहकलाई उत्कृष्ट सेवा प्रदान गर्दै आइरहेको छ ।


