काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले मंगलबार आयोजना गरेको सांसद अभिमुखीकरण कार्यक्रममा सुरु भएको छ । ललितपुरको ग्वार्कोस्थित होटल रोयल टुलिपमा कार्यक्रमको आयोजना गरिएको हो ।
सांसदको पदमा रहेर गर्न हुने र गर्न नहुने काम, सांसदका काम, कर्तव्य र अधिकार तथा पार्टीका नीति र उद्देश्यबारे प्रशिक्षण दिनका लागि रास्वपाले आफ्ना सांसदहरूलाई अभिमुखीकरण कार्यक्रम राखेको हो । कार्यक्रममा पार्टी सभापति रवि लामिछाने, वरिष्ठ नेता बालेन्द्र शाह, उपसभापतिसहित सबै नेता तथा सांसदहरू सहभागी हुने बताइएको छ ।
फागुन २१ मा सम्पन्न निर्वाचनबाट प्रतिनिधिसभाको सबैभन्दा ठूलो दल बनेको रास्वपाले ललितपुरको होटल रोयल टुलिपमा सांसदहरूका लागि दुई दिने आवासीय अभिमुखीकरण कार्यक्रम आयोजना गरेको हो । कार्यक्रम मंगलबार र बुधबार हुने रास्वपा प्रशिक्षण विभाग प्रमुख तथा सहमहामन्त्री विपिन आचार्यले जानकारी दिए ।
आचार्यका अनुसार अभिमुखीकरण कार्यक्रममा पार्टीका नीति र सांसदका रूपमा गर्नुपर्ने कामबारे नवनिर्वाचित सांसदहरूलाई जानकारी गराइनेछ । खासगरी पहिलो पटक सांसद बनेकाहरूलाई काम, कर्तव्य, पार्टीको नीति, दृष्टिकोण, कार्यदिशाबारे सुसूचित गर्न, काममा एकरूपता कायम गर्नका लागि प्रशिक्षणको कार्यक्रम आयोजना गरिएको रास्वपाले जनाएको छ ।





