CLI

झोलुङ्गे पुलले जोड्दैछ चन्द्रडाँगी–लालपानी

दमक।   जिल्लाको शिवसताक्षी नगरपालिका–६ स्थित चन्द्रडाँगी बजार हुँदै कनकाई नदीपूर्वमा रहेको वडा नं १० र वडा नं ७ को केही भू–भाग जोड्न कनकाई नदीमाथि झोलुङ्गे पुलको निर्माणको कार्य अन्तिम चरणमा पुगेको छ । सङ्घीय सरकारको झोलुङ्गे पुल महाशाखा, ललितपुर कुपन्डोलबाट विनियोजित रु सात करोड ४१ लाखको लागतमा निर्माण सुरु गरिएको झोलुङ्गे पुल अन्तिम चरणमा पुगेको हो ।

पुलको लम्बाइ ६४० मिटर रहेको छ । शिवसताक्षी नगरपालिकाको भौगोलिक अवस्थिति अनुसार कनकाई नदीपूर्व पनि केही वडा रहेका छन् । कनकाई नदीपूर्व पनि वडा नं १० र वडा नं ७ को केही भू–भाग छ । हालसम्म ती वडाका बासिन्दाले आफ्नै वडाभित्र आवतजावत गर्नसमेत पूर्व–पश्चिम राजमार्गमा रहेको कनकाई पुलको प्रयोग गर्नुपर्ने बाध्यता रहिआएको छ ।

स्थानीयका अनुसार वडा नं ७ का बासिन्दाले आफ्नो वडाको अर्काे भाग पुग्न करिब सात किलोमिटर उत्तरतर्फ यात्रा गरेर कनकाई पुल पार गरी जानुपर्ने अवस्था छ । तर अब झोलुङ्गे पूल निर्माण सम्पन्न भएपछि यो बाध्यात्मक परिस्थिति अन्त्य हुने विश्वास लिइएको नगर प्रमुख मेगाहाङ थोप्रा (रोशन)को भनाइ छ ।

उनका अनुसार यस पुल निर्माण सम्पन्न भएपछि चन्द्रडाँगी क्षेत्रबाट सिधैँ लालपानी, ट्याक्रलगायत माईपूर्वका बासिन्दालाई नगरपालिका कार्यालय तथा बजार क्षेत्रसम्म आउनजान सहज हुने अपेक्षा गरिएको छ ।

नगर प्रमुख थोप्राले नगर क्षेत्र हेर्दा सहज देखिए पनि भौगोलिक अवस्था र बीचमा बग्ने ठूलो नदीका कारण विकास निर्माणमा चुनौती रहेकाले पनि कतिपय ठुला योजनाका लागि सङ्घीय सरकारको बजेट अपेक्षा गर्नुपर्ने अवस्था रहेको बताए ।

सङ्घीय सरकारको सहयोगमा यो योजना कार्यान्वयनमा आएको र नगरपालिकाले समेत पुलको निर्माणकार्य गुणस्तरीय ढङ्गले सम्पन्न होस् भन्ने उद्देश्यले अनुगमन गरिआएको उनको भनाइ छ । पुल निर्माण सम्पन्न भएपछि शिवसताक्षी नगरपालिकाका सबै वडा नगर केन्द्रसँग अझै प्रभावकारी रूपमा जोडिने विश्वास गरिएको छ ।

यसले स्थानीयको दैनिक जीवन सहज बनाउनुका साथै आर्थिक गतिविधि, शिक्षा, स्वास्थ्य सेवा र प्रशासनिक पहुँचलाई समेत थप सुदृढ बनाउने अपेक्षा गरिएको छ ।

Leave Your Comment

Related News