CLI

मिसाइल र ड्रोनको भिडियो खिचेको आरोपमा ७ नेपाली पक्राउ, १ लाख दिराम जरिवानादेखि १ वर्षसम्म कैद सजाय हुन सक्ने

काठमाडौं । मध्यपूर्वमा जारी द्वन्द्वका क्रममा मिसाइल र ड्रोनको भिडियो तथा फोटो खिचेको आरोपमा ७ जना नेपाली नागरिक पक्राउ परेका छन् । परराष्ट्र मन्त्रालयका अनुसार युनाइटेड अरब इमिरेट्स (UAE) मा ३ जना, साउदी अरबमा ३ जना र कुवेतमा १ जना नेपालीलाई नियन्त्रणमा लिइएको हो।

मन्त्रालयले जनाएको अनुसार ती व्यक्तिहरुले मिसाइल र ड्रोनका दृश्यहरु खिच्ने कार्य गरेका थिए । यस्ता गतिविधिलाई सम्बन्धित देशहरुले सुरक्षा संवेदनशील विषयका रुपमा लिँदै कडा कानुनी कारबाही गर्ने प्रावधान राखेका छन्।

उक्त कार्यले स्थानीय सुरक्षामा जोखिम बढाउनुका साथै सर्वसाधारणमा त्रास फैलाउने र शत्रु पक्षलाई आक्रमणको प्रभाव तथा स्थानबारे जानकारी पुग्न सक्ने भएकाले यस्ता सामग्री खिच्न तथा सार्वजनिक गर्न प्रतिबन्ध लगाइएको बताइएको छ।

पक्राउ परेका नेपालीहरूलाई सम्बन्धित देशको कानुन अनुसार करिब १ लाख दिरामसम्म जरिवाना वा १ वर्षसम्म कैद सजाय (वा दुवै) हुन सक्ने जनाइएको छ।

परराष्ट्र मन्त्रालयले मध्यपूर्वमा रहेका नेपाली नागरिकलाई यस्ता संवेदनशील गतिविधिमा संलग्न नहुन र स्थानीय कानुनको पूर्ण पालना गर्न आग्रह गरेको छ।

Leave Your Comment

Related News