CLI

तीनै तहका सरकारको वित्तीय सूचक एकै ठाउँबाट हेर्न सकिने

काठमाडौं ।‘नेपाल फिस्कल ड्यासबोर्ड’मार्फत तीनै तहका सरकारको वित्तीय सूचक हेर्न सकिने भएको छ । विश्व बैंक नेपालले तयार गरेको उक्त ड्यासबोर्डमार्फत सङ्घ, प्रदेश र स्थानीय गरेर तीनै तहका सरकारको बजेट, राजस्व, खर्च, ऋण र वित्तीय सूचक एकै ठाउँमा हेर्न, विश्लेषण गर्न र डाउनलोड गर्न सकिने भएको हो ।

नेपाल आर्थिक पत्रकार सङ्घ (नाफिज)द्वारा आज आयोजित कार्यक्रममा नेपाल विश्व बैंक समूहले सो विषयमा प्रस्तुतीकरण गरेको थियो । गत महिना सार्वजनिक भइसकेको ड्यासबोर्डबाट मुलुकको तीनै तहका सरकारी आय, खर्च र ऋणसम्बन्धी तथ्याङ्क प्राप्त गर्न सकिने जनाइएको छ ।

यो ड्यासबोर्डमार्फत सङ्घ, प्रदेश र स्थानीय तह प्रत्येकको बजेट, राजस्व स्रोत र खर्च उपलब्ध हुने छ । ती सबै तथ्याङ्कलाई एउटै ‘प्लेटफर्म’मा ल्याएर ‘भिजुअलाइज’ र विश्लेषण गर्न मिल्ने बनाइएको हो ।

यो ड्यासबोर्ड एकीकृत प्रणालीको अन्तरक्रियात्मक र प्रयोगकर्तामैत्री रहेको बैंकले जनाएको छ । ड्यासबोर्डमा सन् २०१८ देखि २०२२ सम्मका ऐतिहासिक तथ्याङ्क समावेश गरिएको छ ।

नयाँ तथ्याङ्क अद्यावधिक गरिँदै लैजाने बैंकले जनाएको छ । स्रोतका रूपमा बजेट भाषण, महालेखा नियन्त्रकको कार्यालयले प्रकाशन गर्ने एकीकृत वित्तीय विवरण र नेपाल राष्ट्र बैंकलगायत सार्वजनिक निकायका तथ्याङ्क प्रयोग गरिएको छ ।

ड्यासबोर्ड प्रयोग गर्न कुनै अनुमति आवश्यक नपर्ने र जोकोहीले स्वतन्त्र रूपमा प्रयोग गर्न सक्ने बताइएको छ । तर तथ्याङ्क सरकारी स्रोतबाट आएकाले स्रोत उल्लेख गर्नु उपयुक्त हुने जनाइएको छ ।

नाफिजकी अध्यक्ष मेनुका कार्कीले ड्यासबोर्डमा प्राप्त हुने तथ्याङ्क विश्लेषण गर्न सजिलो हुने भएकाले आर्थिक पत्रकारिताका लागि निकै उपयोगी हुने विश्वास व्यक्त गरिइन ।

उनले प्रयोगकर्ताहरूले नेपाली भाषामा उपलब्ध गराउनुपर्ने अन्य दक्षिण एसियाली देशसँग तुलना गर्ने सुविधा थप्नुपर्ने र नियमित अद्यावधिक गर्न सुझाव दिए ।

Leave Your Comment

Related News