CLI

प्रहरीको ‘घुमौँ चितवन’ कार्यक्रम सुरु

चितवन। जिल्ला प्रहरी कार्यालयले चितवनभित्र कार्यरत प्रहरीलाई एक ठाउँबाट अर्को ठाउँमा घुम्दै आन्तरिक पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले सञ्चालित ‘घुमौँ चितवन’ कार्यक्रम पुनः सुरु गरेको छ । युवापुस्ता जेनजी प्रदर्शन, निर्वाचनलगायत कारणले रोकिएको उक्त कार्यक्रम पुनः सुरु गरिएको हो ।

जिल्लाका विभिन्न क्षेत्रमा कार्यरत प्रहरी एक ठाउँबाट अर्को भूगोलमा गएर त्यहाँको पर्यटकीय गन्तव्यमा रमाउनुका साथै यसले आन्तरिक पर्यटन प्रवर्द्धन हुने विश्वास लिइएको छ । प्रहरीले तनाव व्यवस्थापन गर्ने, रचनात्मक तथा मनोरञ्जनात्मक गतिविधि सञ्चालन गर्ने, भाइचारा सम्बन्ध कायम गराउने, अनुभव साटासाट गर्ने, पर्यटन प्रवर्द्धन गर्नेलगायत कार्यक्रम गर्दै आएको छ ।

कायालयका प्रमुख प्रहरी उपरीक्षक गोविन्द पुरीका अनुसार प्रहरीलाई केही समय आराम गराउने, आन्तिरक पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले सञ्चालित कार्यक्रममा डुङ्गा सयर, र्‍याफ्टिङ, हाइकिङलगायत पर्यटकीय गतिविधि सञ्चालन हुँदै आएका छन् ।

साथै चितवन राष्ट्रिय निकुञ्जभित्र पर्यटकीय गतिविधिमा सहभागी गराउने गरिएको उनले बताए । प्रहरी उपरीक्षक पुरीका अनुसार छिमेकी जिल्लामा समेत पुगेर त्यहाँका पर्यटकीय सम्पदामा रमाउने, विभिन्न गतिविधिमा संलग्ने हुने र ज्ञान आर्जन गर्ने गरिएको छ ।

आलोपालो गरी गरिएको यस कार्यक्रमले प्रहरी कर्मचारी प्रत्यक्ष रूपमा लाभान्वित भएका उनले बताए । करिब एक वर्ष अघिदेखि सुरु गरिएको उक्त कार्यक्रमले प्रहरीलाई पुनर्ताजगी र सरुवा भएर एक ठाउँबाट अर्को ठाउँमा जाँदा भूगोलको पनि उचित ज्ञान हुने गरेको उनको बुझाइ छ ।

जिल्ला प्रहरी कार्यालय मातहत चितवनमा नौ सय प्रहरी कार्यरत छन् । जिल्ला ट्राफिक, आठ वटा इलाकासहित जिल्लामा ७३ वटा युनिटमा रहेर प्रहरीले सेवा प्रवाह गरिरहेका छन् ।

Leave Your Comment

Related News