काठमाडौं । आरएसडिसी लघुवित्त वित्तीय संस्था लिमिटेडले वार्षिक साधारणसभा आह्वान गरेको छ । कम्पनीको मंसिर ६ गते बसेको सञ्चालक समितिको बैठकले आगामी पुस ३ गतेका लागि १३ औं वार्षिक साधारणसभा बोलाएको हो ।
सभा वेष्टर्न एसियन होटल प्रा. लि. बुटवल, रूपन्देहीमा बिहाना साढे ९ बजेदेखि सुर हुने छ । सभामा सामान्य प्रस्तावका रुपमा आर्थिक वर्ष २०८२/८३ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदन सहितको २०८३ असार मसान्तको वित्तीय अवस्थाको विवरण तथा सोही मितिमा समाप्त आ.व. २०८२/८३ को नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरण लगायतका वित्तीय विवरणहरु स्वीकृत गर्ने छ ।
त्यस्तै सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम सेयरधनीहरुलाई वितरण गरिने चुक्ता पुँजीको ९.४० प्रतिशत नगद लाभांश प्रस्ताव पारितगर्ने छ । त्यस्तै आर्थिक वर्ष २०८३/८४ का लागि बाह्य लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक तोक्ने प्रस्ताव पारित गर्ने छ । (कम्पनी ऐन २०६३ को दफा १११ (३) बमोजिम बहालवाला लेखापरीक्षक श्री पि.एल.आर.जि. एसोसिएट्स चार्टर्ड एकाउण्टेण्ट्स पुनः नियुक्त हुन योग्य रहेको) ।
त्यस्तै विशेष प्रस्तावका रुपमा यस वित्तीय संस्था अन्य कुनै वित्तीय संस्था एक आपसमा गाभ्ने/गाभिने (मर्जर) तथा प्राप्ति (एक्विजिशन) म सञ्चालक समितिबाट गठीत मर्जर समिति तथा सो समितिले गरेको कार्य अनुमोदन गर्न, नयाँ मर्जर समिति गठन गर्न, मर्जर तथा प्राप्तिको सन्दर्भमा डिडिए नियुक्ती गर्न, निजको पारिश्रमिक तोक्ने लगायतका प्रक्रिया अवलम्बन गरी उपयुक्त संस्थालाई एक आपसमा गाभ्ने/गाभिने (मर्जर) तथा प्राप्ति (एक्विजिशन) गर्नको लागि सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने छ ।
साधारण सभा प्रयोजनको लागि कम्पनीले मंसिर १८ गते एक दिन बुक क्लोज गर्ने भएको छ । यस अनुसार मंसिर १७ गतेसम्ममा सेयर खरीद ÷ बिक्री गरी प्रचलित कानून बमोजिम यस वित्तीय संस्थाको सेयर रजिष्ट्रार ग्लोबल आइएमई क्यापिटल लिमिटेडमा प्राप्त विवरणहरूको आधारमा कायम सेयरधनीहरूले मात्र वार्षिक साधारण सभामा भाग लिन पाउने छन् ।



