CLI

मध्यपूर्वको द्धन्द्धले अझै देखिएन नेपालको वैदेशिक व्यापारमा असर,व्यापार घाटा भने करिब ११ खर्ब पुग्यो

काठमाडौं । इरान र अमेरिका- इजरायलबीचको द्धन्द्धको असर नेपालको वैदेशिक व्यापारमा हालसम्म देखिएको छैन । बजारमा खाना पकाउने ग्यास अभाव भए पनि पेट्रोलियम पदार्थको आयातमा गिरावट भएको देखिदैन ।

भन्सार विभागले आइतबार सार्वजनिक गरेको तथ्यांक अनुरुप चालु आर्थिक वर्षको आठ (साउन देखि फागुन) महिनाको अवधिमा व्यापार घाटा ११.२२ प्रतिशतले बढेको छ । चालु आवको आठ महिनामा व्यापारघाटा १० खर्ब ९८ अर्ब १३ करोड पुगेको छ गत आवको सोही अवधिमा व्यापार घाटा ९ खर्ब ८७ अर्ब ३९ करोड रहेको थियो ।

उच्च आयात र न्यून निर्यातका कारण व्यापार घाटा बढेको विभागका सूचना अधिकारी एवम निर्देशक किशोर बर्तौलाले जानकारी दिए । उनका अनुसार निर्यात व्यापार अर्बमा पुग्दा आयात व्यापार खर्बमा रहेको कारण मुलुकको वैदेशिक व्यापार घाटामा रहेको हो ।
चालु आवको आठ महिनाको अवधिमा १२ खर्ब ८९ अर्ब २५ करोड बराबरको सामग्री आयात भएको छ । जुन गत आवको सोही अवधिको तुलनामा १२.५४ प्रतिशतले बढी हो । गत आवको आठ महिनामा ११ खर्ब ४५ अर्ब ६६ करोड बराबरको सामग्री आयात गरिएको थियो । विशेष गरी भारत लगायत तेस्रो मुलुकबाट नेपालले पेट्रोलियम पदार्थ, फलाम तथा स्टिल र तिनका उत्पादनहरु, मेसिनरी तथा पाट्र्स, यातायातका साधन र तिनका पार्टस्, भटमास, दूरसञ्चारका सामग्री, इलेक्ट्रिक र इलेक्ट्रोनिक सामग्री, पामलगायतका सामग्री आयात गर्छ ।

चालु आवको आठ महिनामा १ खर्ब ९१ अर्ब ११ करोड बराबरको सामग्री निर्यात गरिएको छ । जुन गत आवको सोही अवधिको तुलनामा २०.८३ प्रतिशतले बढी हो । गत आवको आठ महिनामा १ खर्ब ५८ अर्ब १७ करोड बराबरको सामग्री निर्यात गरिएको थियो । नेपालले भारत लगायत तेस्रो मुलुकसँग विशेषगरी भटमासको तेल, सूर्यमूखी तेल, गलैंचा अलैंची लगायतका सामग्रीहरुको उच्च निर्यात गर्छ । साथै नेपालबाट निकासी भएका प्रमुख वस्तुहरुमा भटमासको तेल, पामतेल, पोलिष्टर तथा अन्य धागो, ऊनी गलैंचा, जुट तथा जुटका सामानहरु, तयारी पोशाक, जुस, सूर्यमुखी तेल, अलैंची, ऊनी फेल्टका उत्पादन, कपडा, चिया, पश्मिना शल, कुकुर र विरालोको आहार (डग च्यू), फलाम तथा फलामका उत्पादनहरु, चाउचाउ, नेपाली हाते कागज, रोजिन र रेजिन एसिड, जडीबुटी प्रमुख रुपमा रहेका छन् ।

नेपालको निर्यात व्यापारमा महत्वपूर्ण रहेका अन्य मुलुकहरुमा संयुक्त राज्य अमेरिका, जर्मनी, टर्की, युके, फ्रान्स, अष्ट्रेलिया, क्यानडा, इटाली, जापान, चीन, नेदरलेण्ड्स, डेनमार्क, बंगलादेश रहेका छन् ।

समीक्षा अवधिमा वैदेशिक व्यापार समेत बढेको छ । चालु आवको आठ महिनामा कुल वैदेशिक व्यापार १४ खर्ब ८० अर्ब ३६ करोड बराबर रहेको छ । जुन गत आवको सोही अवधिको तुलनमा १३.५५ प्रतिशतले बढी हो । गत आवको आठ महिनाको अवधिमा कुल वैदेशिक व्यापार १३ खर्ब तीन अर्ब ७३ करोड बराबर रहेको थियो ।

चालु आवको आठ महिनामा वैदेशिक व्यापारमा निर्यातको हिस्सा १२.९१ प्रतिशत हुँदा आयातको हिस्सा ८७.०९ प्रतिशत रहेको छ ।

Leave Your Comment

Related News