CLI

अमेरिका–इजरायलको दबाब बढ्दै, इरानविरुद्ध सैन्य रणनीति विस्तार गर्ने तयारी

काठमाडौं । अमेरिकाले इरानलाई स्ट्रेट अफ हार्मोज पुनः खोल्न बाध्य पार्न केही हप्तासम्म चल्ने सैन्य अभियानको योजना बनाइरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् । इजरायली रिपोर्टअनुसार, यदि इरानले मार्ग नखोले युद्ध अझ लम्बिन सक्ने संकेत गरिएको छ ।

अमेरिकास्थित इजरायलका राजदूत येचिएल लाइटरले युद्ध तबसम्म जारी रहने बताएका छन् जबसम्म इरानको इस्लामिक गणतन्त्र शासन पूर्ण रूपमा कमजोर नबनाइन्छ । उनले भने, “इरानी शासनसँग कुनै शक्ति बाँकी नरहने अवस्था सिर्जना गर्नुपर्छ, त्यसपछि जनता आफैं उठ्ने सम्भावना हुन्छ ।”

उनले थपे कि अन्ततः तेहरानमा क्षेत्रलाई धम्की दिने कुनै शक्ति बाँकी नरहने अवस्था सिर्जना गर्नु नै लक्ष्य हो। उनले सोभियत संघको पतनजस्तै इरानमा पनि जनविद्रोह सम्भव रहेको बताए ।

यसबीच डोनाल्ड ट्रम्प र बेन्जामिन नेतान्याहुले इरानी जनतालाई सरकारविरुद्ध उठ्न आह्वान गरेका छन् । ट्रम्पले ४८ घण्टाभित्र हर्मुज जलडमरूमध्य खोल्न चेतावनी दिँदै अन्यथा इरानका ऊर्जा केन्द्रहरूमा आक्रमण गर्ने बताएका छन् ।

यदि इरानले उक्त समयसीमा पालना नगरेमा अमेरिकाले जलमार्ग खुलाउन विशेष सैन्य अभियान सञ्चालन गर्ने र युद्धलाई केही हप्तासम्म लम्ब्याउने तयारी गरेको टाइम्स अफ इजरायलले जनाएको छ  ।

इरानले भने अमेरिका र इजरायलले आफ्नो नागरिक पूर्वाधारमा ठूलो क्षति पुर्‍याएको आरोप लगाएको छ । ऊर्जा मन्त्री अब्बास अलीआबादीका अनुसार पानी तथा विद्युत् संरचनामा व्यापक क्षति पुगेको छ । इरानी रेड क्रिसेन्टका अनुसार ८१ हजारभन्दा बढी नागरिक संरचना प्रभावित भएका छन्।

युद्धका क्रममा इरानले आइतबार इजरायलका विभिन्न क्षेत्रमा मिसाइल आक्रमण जारी राखेको छ। केही मिसाइलमा क्लस्टर बम प्रयोग गरिएको जनाइएको छ, जसबाट कम्तीमा १५ जना घाइते भएका छन्। इजरायली रक्षा प्रणालीले अधिकांश मिसाइलहरू नष्ट गरे पनि केही क्षति भएको छ।

इजरायली सेनाले भने तेहरान लगायतका क्षेत्रमा व्यापक हवाई आक्रमण गरेको जनाएको छ । इरानका सैन्य तथा हतियार उत्पादन केन्द्रहरूलाई लक्षित गरी हजारौं बम खसालिएको दाबी गरिएको छ ।

फेब्रुअरी २८ देखि सुरु भएको यस द्वन्द्वमा हालसम्म सयौं आक्रमण भइसकेका छन्। इजरायलका अनुसार करिब ५ हजार इरानी सैनिक मारिएका छन् भने हजारौं घाइते भएका छन्। उता इरानी आक्रमणमा १५ इजरायली नागरिक र केही विदेशी नागरिकको मृत्यु भएको छ।

Leave Your Comment

Related News