काठमाडौं । इरानले आफ्ना विद्युत् संरचनामाथि अमेरिका आक्रमणमा उत्रिए इजरायल र खाडी क्षेत्रका देशहरूका विद्युत् केन्द्रहरूमा प्रतिआक्रमण गर्ने चेतावनी दिएको छ । इरानको इस्लामिक रिभोलुसनरी गार्ड कर्प्स (IRGC) ले “यदि बिजुलीमा आक्रमण भयो भने हामी पनि बिजुलीमै प्रहार गर्छौं” भन्दै कडा प्रतिक्रिया जनाएको हो।
अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले स्ट्रेट अफ होर्मुज सबैका लागि नखोले ४८ घण्टाभित्र उसका ऊर्जा संरचना ध्वस्त पार्ने चेतावनी दिएपछि तनाव थप चर्किएको हो । उक्त समयसीमा सोमबार सकिँदै छ ।
इरानले त्यसको जवाफमा इजरायलका साथै अमेरिकी सैन्य अड्डासँग सम्बन्धित ऊर्जा, औद्योगिक र सञ्चार संरचनामा व्यापक आक्रमण गर्ने चेतावनी दिएको छ । साथै, पर्शियन खाडीका समुद्री मार्गहरूमा बारुदी सुरुङ (माइन) बिछ्याउने र होर्मुज पूर्ण रूपमा बन्द गर्ने धम्की पनि दिएको छ।
यसैबीच, इरानले इजरायल र खाडी देशहरूमा निरन्तर मिसाइल आक्रमण जारी राखेको छ । सोमबार बिहान इजरायलका उत्तरी र केन्द्रीय क्षेत्र, जेरुसेलमसम्म साइरन बजेको थियो। केही स्थानमा क्षति पुगे पनि मानवीय क्षतिको खबर छैन।
उता, इजरायली सेनाले तेहरानमा “व्यापक” हवाई आक्रमण गरेको जनाएको छ । स्थानीय सञ्चारमाध्यमहरूका अनुसार राजधानीका कम्तीमा पाँच क्षेत्रमा विस्फोट भएका छन् र पूर्वी भागमा बाक्लो धुवाँ देखिएको छ।
क्षेत्रीय तनाव फैलिँदै जाँदा संयुक्त अरब इमिरेट्सको अबुधाबीस्थित अल धफ्रा एयर बेस नजिक मिसाइल खसालिएको छ, जसबाट एक जना घाइते भएका छन् । साउदी अरेबियाले रियाद लक्षित मिसाइल अवरोध गरेको जनाएको छ भने बहरेन र कुवेतमा चेतावनी साइरन बजाइएको थियो ।
इरानले खाडी क्षेत्रका ऊर्जा संरचना पनि निशाना बनाउँदै आएको छ । विश्वको करिब पाँचौं हिस्सा तेल आपूर्ति हुने स्ट्रेट अप होर्मुज इरानको नियन्त्रण कडा बन्दै जाँदा विश्व ऊर्जा आपूर्ति जोखिममा परेको छ । विशेषज्ञहरूका अनुसार खाडी देशहरूमा विद्युत् उत्पादनसँगै पानी आपूर्ति गर्ने डेसालिनेशन प्लान्टहरू जोडिएका हुने भएकाले यस्ता संरचनामा आक्रमण भए गम्भीर पानी संकट उत्पन्न हुन सक्छ।
यसबीच, अमेरिकी सेनाले इरानलाई “हतास अवस्थामा” रहेको आरोप लगाएको छ। अमेरिकी सेन्ट्रल कमाण्डका प्रमुख एडमिरल ब्राड कुपरका अनुसार इरानले पछिल्ला हप्ताहरूमा ३०० भन्दा बढी पटक नागरिक संरचनालाई लक्षित गरेको छ । उनले इरानका उच्च सैन्य अधिकारीहरू बंकरमा लुकेर बसेको र सामान्य सैनिकहरू जोखिममा रहेको दाबी पनि गरेका छन्।


