काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) को आगामी निर्वाचनका लागि वस्तुगत तर्फको उपाध्यक्ष पदमा शिवप्रसाद घिमिरेले प्यानलसहित औपचारिक उम्मेदवारी घोषणा गरेका छन् ।
राजधानीमा सोमबार कार्यक्रम गरी घिमिरेले १६ सदस्यीय सदस्य पदका उम्मेदवारसहितको समूह सार्वजनिक गरेका हुन् ।
घिमिरेको यो उम्मेदवारीलाई महासंघको भावी नेतृत्व सम्हाल्न लागेका अञ्जन श्रेष्ठले समेत आधिकारिक रूपमा समर्थन गरेको दावी गरिएको छ । ऊर्जा र एलपी ग्यास क्षेत्रमा स्थापित व्यवसायी घिमिरेले आफ्नो समूहमा उद्योग र व्यापारका विभिन्न विधालाई समेटेर समावेशी समूह निर्माण गरेका हुन ।
घिमिरे अन्जन श्रेष्ठपछि महासंघको अध्यक्ष बन्ने योजनामा छन् । त्यसका लागि उनले अहिलेदेखि नै वातावरण बनाउने काम गरेका छन् ।
घिमिरेको समूहबाट अरनिको राजभण्डारी, रविन पुरी, राजकुमार कार्की, वसन्तचन्द्र मरहट्टा, सुनिता न्हेमाफुकी, संघर्ष विष्ट, रघुनन्दन मारु, राजेशभक्त श्रेष्ठ, होमप्रसाद घिमिरे, धनप्रसाद लामिछाने, धर्मराज सापकोटा, कृष्णप्रसाद अवाले, एबबहादुर थापा, विश्वनाथ खनाल, नानीराज घिमिरे, ध्रुबबहादुर गौतम छन् ।
घिमिरे नेपाली निजी क्षेत्रमा एक एक्सन ओरिएन्टेड र तार्किक नेतृत्वका रूपमा परिचित छन् । उनको व्यावसायिक पृष्ठभूमि र महासंघभित्रको सक्रियतालाई यस निर्वाचनमा मुख्य बलका रूपमा हेरिएको छ ।
नेपाल एलपी ग्यास उद्योग संघको पूर्व अध्यक्षका रूपमा उनीले पेट्रोलियम र ऊर्जा क्षेत्रका नीतिगत सुधारमा महत्वपूर्ण भूमिका खेलेको छन् ।उनले प्यानल घोषणा कार्यक्रममा बोल्दै अबको नेतृत्व कुरामा होइन काममा केन्द्रित हुनुपर्ने बताए ।
यसअघि हेमराज ढकाल समूहको प्यानलले आफ्नो उम्मेदवारी घोषणा गरेको थियो ।


