CLI

“हामीसँग प्रविधि, अनुभव र पूँजी छ- नेपालमै प्रयोग गर्न चाहन्छौँ, अन्तर्राष्ट्रिय खगोल वैज्ञानिक डा. भट्ट

काठमाडौं । अन्तर्राष्ट्रिय खगोल वैज्ञानिक डा गोपाल भट्टले नेपाल सरकारसँग सहकार्य गर्दै देशमै अत्याधुनिक अन्तरिक्ष अनुसन्धान केन्द्र स्थापना गर्ने तथा वैदेशिक लगानी भित्र्याउने प्रस्ताव अघि सारेका छन् ।

हाल पोल्याण्डस्थित प्रतिष्ठित Jagiellonian University मा वैज्ञानिकका रूपमा कार्यरत डा. भट्टले नेपालका हिमाली तथा उच्च पहाडी क्षेत्र स्वच्छ आकाश र न्यून प्रकाश प्रदूषणका कारण खगोलीय अनुसन्धानका लागि उपयुक्त रहेको बताएका छन् ।

उनले नेपालमा आधुनिक टेलिस्कोप जडान तथा अन्तरिक्ष अनुसन्धान केन्द्र स्थापना गर्ने सम्भाव्यता अध्ययनसमेत पूरा गरिसकेको जानकारी दिए।

डा. भट्ट विशेषगरी ब्ल्याकहोल, ब्लेजर तथा उच्च ऊर्जा खगोल भौतिकशास्त्रसम्बन्धी अनुसन्धानमा सक्रिय रहँदै आउनुभएको छ। उहाँले NASA (नासा) तथा European Space Agency का टेलिस्कोपबाट प्राप्त तथ्याङ्क प्रयोग गर्दै अन्तर्राष्ट्रिय वैज्ञानिकहरूसँग सहकार्य गर्दै आएका छन् ।

नेपाल भ्रमणका क्रममा डा. भट्टले स्वदेशमै अन्तरिक्ष अनुसन्धान केन्द्र स्थापना भएमा नेपालमा विज्ञान तथा प्रविधिको क्षेत्रमा नयाँ अवसर सिर्जना हुने विश्वास व्यक्त गरेका छन् । उनका अनुसार यस्तो परियोजनाले नेपाली विद्यार्थीहरूलाई स्वदेशमै आधुनिक विज्ञान अध्ययन गर्ने अवसर प्रदान गर्नुका साथै अन्तर्राष्ट्रिय स्तरको प्रविधि नेपाल भित्र्याउन मद्दत पुग्नेछ।

उनले विदेशमा रहेका नेपाली वैज्ञानिकहरूसँग पर्याप्त प्रविधि, अनुभव र आर्थिक स्रोत उपलब्ध रहेको उल्लेख गर्दै स्पष्ट सरकारी नीति र सहकार्य भए ती स्रोतहरू नेपालमै प्रयोग गर्न सकिने बताए ।

“हामीसँग प्रविधि, अनुभव र पूँजी छ। विदेशमा वर्षौँदेखि विज्ञान क्षेत्रमा काम गर्दै आर्जन गरेको ज्ञान र स्रोत नेपालमै प्रयोग गर्न चाहन्छौँ,” उनले भने।

डा. भट्टका अनुसार अन्तरिक्ष अनुसन्धान केन्द्र स्थापना भएमा अन्तर्राष्ट्रिय संस्थाहरू तथा निजी क्षेत्रको सहकार्यमार्फत उल्लेखनीय वैदेशिक लगानी नेपाल भित्र्याउन सकिने सम्भावना रहेको छ। यस्तो परियोजनाले नेपाललाई ज्ञान–आधारित अर्थतन्त्र तर्फ अघि बढाउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरिएको छ।

उनले विज्ञान तथा प्रविधिलाई राष्ट्रिय विकासको प्राथमिकतामा राख्दै स्पष्ट नीति, प्रशासनिक सहजीकरण तथा दीर्घकालीन लगानी सुनिश्चित गर्न सरकारसँग आग्रह गरे । नयाँ सरकारले विज्ञान क्षेत्रलाई प्राथमिकता दिए नेपालले अन्तरिक्ष अनुसन्धानको क्षेत्रमा उल्लेखनीय उपलब्धि हासिल गर्न सक्ने उनको विश्वास रहेको छ।

Leave Your Comment

Related News