खोटाङ । यहाँको दिक्तेलमा आगामी वैशाख ३ देखि ७ गतेसम्म ‘वैज्ञानिक अन्वेषण तथा विज्ञान–गणित प्रदर्शनी–२०८३’ महोत्सव आयोजना हुने भएको छ ।
कोशी प्रदेश सरकार, सामाजिक विकास मन्त्रालयको आर्थिक सहयोगमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका, शुभम् फाउन्डेसन र हिमालयन माध्यमिक विद्यालय सोल्माले संयुक्तरूपमा महोत्सव गर्ने भएको हो । विद्यार्थी तथा युवापुस्तामा विज्ञान र प्रविधिप्रति रुचि बढाउँदै आगामी दिनमा वैज्ञानिक उत्पादन गर्ने उद्देश्यले महोत्सव आयोजना गर्न लागिएको महोत्सव आयोजक समितिका संयोजक एवम् शुभम् फाउन्डेसनका कार्यकारी निर्देशक सूर्यबहादुर राईले जानकारी दिए ।
“प्रविधिमैत्री तथा नवप्रवर्तनमुखी महोत्सव जिल्लामा पहिलोपटक आयोजना गरिएको छ । युवापुस्तामा विज्ञान र प्रविधिप्रति रुचि बढाउँदै एआईको प्रयोग तथा सम्भावनाको खोजी गरेर स्थानीयस्तरमै नवप्रवर्तनलाई प्रोत्साहन गर्ने उद्देश्य राखिएको छ”, उनले भने , “महोत्सवमा विद्यार्थीले तयार पारेका विज्ञानसम्बन्धी परियोजना, एआईमा आधारित नमूना प्रस्तुति तथा अन्तरक्रियात्मक स्टल राखिन्छ । पाँच दिनसम्म सञ्चालन हुने महोत्सवले विद्यार्थीमा सिर्जनशील सोचको विकास हुने र ग्रामीण क्षेत्रमा विज्ञान तथा प्रविधिसम्बन्धी ज्ञान र सीपको विस्तारमा महत्त्वपूर्ण योगदान पुग्ने अपेक्षा गरेका छौँ ।”
महोत्सवको परियोजना प्रतिस्पर्धामा प्रथम, द्वितीय र तृतीय हुने विद्यालय तथा विद्यार्थीलाई क्रमशः नगद २० हजार, दश हजार र पाँच हजार रुपैयाँ पुरस्कार प्रदान गरिने जनाइएको छ । रोबो कार रेसमा प्रथम हुनेलाई नगद १५ हजार, द्वितीयलाई दश हजार र तृतीयलाई पाँच हजार रुपैयाँ प्रदान गरिने आयोजकले जनाएको छ । पिपुल्स च्वाइस् अवार्ड र मोस्ट प्राक्टिकल इनोभेसन अवार्ड अन्तरगत नगद पाँच÷पाँच हजार रुपैयाँ प्रदान गरिने महोत्सवका संयोजक राईले जानकारी दिए ।


