काठमाडौं । पाकिस्तानको राजधानी इस्लामावादमा पाकिस्तानको मध्यस्थकर्तामा अमेरिका र इरानबीच शान्तिवार्ता सुरु भएको छ । अमेरिकी सञ्चारमाध्यम सीएनएनले इरानी सरकारी सञ्चारमाध्यमलाई उधृत गर्दै शनिबार दिउँसोदेखि तीनै देशका वार्ताकारहरू प्रत्यक्ष वार्तामा जुटेका छन् ।
वार्ता इस्लामावादस्थित पाँचतारे होटेल सेरेनामा भइरहेको छ । अर्को अन्तर्राष्ट्रिय सञ्चार संस्था अलजजिराले सन् १९७९ को इरानी इस्लामिक क्रान्तिपछि वासिङ्गटन र तेहरानबीच हुनलागेको पहिलो उच्चस्तरीय वार्ता भनेको छ ।
अमेरिकाका तर्फबाट वार्ताको संयोजन उपराष्ट्रपति जेडी भान्सले गरिरहेका छन् । उनीसँगै राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष दूत स्टिभ विटकफ र ट्रम्पका ज्वाइँ जारेड कुसनरसहितको प्रतिनिधिमण्डल वार्तामा सहभागी छ ।
इरानका तर्फबाट त्यहाँको संसद्का सभामुख मोहम्मद बगेर गालीबाफले वार्ता टोलीको नेतृत्व गरेका छन् । जसमा विदेशमन्त्री अब्बास अरागची पनि सामेल छन् ।
वार्ता सुरु हुनुअघि पाकिस्तानी प्रधानमन्त्री शहबाज शरिफले अमेरिकी र इरानी प्रतिनिधिमण्डलसँग छुट्टाछुट्टै संवाद गरेका थिए ।
पाकिस्तानको प्रधानमन्त्री कार्यालयले पनि बहुप्रतिक्षित शान्तिवार्ता सुरु भएको जानकारी दिएको छ ।


