CLI

बाली तथा पशुधन बिमाबापतको ‘प्रिमियम’ १ अर्ब ६० करोड रुपैयाँ भुक्तानी

काठमाडौं ।  सरकारले बाली तथा पशुधन बिमाको ‘प्रिमियम’मा अनुदानबापत रु एक अर्ब ६० करोड भुक्तानी गरेको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले गत आर्थिक वर्षमा पशुपक्षी बिमातर्फ रु एक अर्ब ४३ करोड तथा बाली बिमातर्फ रु १७ करोड भुक्तानी गरेको हो ।

पशुपक्षी तथा मत्स्यतर्फ एक लाख ६६ हजार ७११ र बालीधनतर्फ एक हजार ६३४ गरी एक लाख ६८ हजार ३४५ बिमालेख जारी गरिएको मन्त्रालयका सूचना अधिकारी महानन्द जोशीले जानकारी दिए ।

जारी गरिएका बिमालेखलाई नेपाल बिमा प्राधिकरणले प्रमाणीकरण गरेपछि किसानलाई भुक्तानी गरिन्छ । मन्त्रालयले चालु आर्थिक वर्ष २०८२÷८३ को पुस मसान्तसम्म बिमा बापतको करिब रु ९० लाख भुक्तानी गरेको छ ।

जारी गरिएका केही बिमालेख प्रमाणीकरणको चरणमा रहेका सूचना अधिकारी जोशीले बताउनुभयो । बिमा कम्पनीले बिमा गरेको ३० दिनभित्र प्रदेशस्थित कृषि, मत्स्य तथा पशुपन्छी कार्यालयको सिफारिससहित बिमा प्राधिकरणमा अनुदानका लागि निवेदन दिनुपर्छ ।

कृषकलाई जोखिम कम गर्न र लगानी सुरक्षित गर्न सरकारले बाली तथा पशुधन बिमाको प्रिमियममा रु ५० लाखसम्मको बिमामा ८० प्रतिशत र सोभन्दा बढीको बिमामा ६५ प्रतिशतसम्म अनुदान उपलब्ध गराउने गरेको जोशीले बताए ।

कृषिमा निजी तथा सहकारी क्षेत्रको लगानी सुरक्षा र आकर्षण बढाउन बिमा कार्यक्रममा बाली, माछा र पशुपन्छीलाई समावेश गरिएको छ ।

Leave Your Comment

Related News