दाङ। सरकारी छाप दुरुपयोग गर्नुका साथै कीर्ते हस्ताक्षर गरी चोरीका मोटरसाइकल बिक्री वितरण गर्दै आएको आरोपमा तीन जनालाई प्रहरीले तुलसीपुरबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा जिल्ला सल्यान बागचौर नगरपालिका-२ बस्ने २० वर्षीय दीपक भण्डारी, सोही ठाउँका १९ वर्षीय सरोज घर्ती मगर र १९ वर्षीय राजन बिष्ट रहेको जिल्लास्थित प्रहरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक रेशम बोहराले जानकारी दिए ।
प्रवक्ता प्रहरी नायब उपरीक्षक बोहराका अनुसार वैशाख १ गते साँझ ५ः०० बजे तुलसीपुर उपमहानगरपालिका-५ माछापुच्छ्रे टोलस्थित थारमारे भण्डारी होटलमा शङ्कास्पद गतिविधि भइरहेको भन्ने सूचना पाएपछि इलाका प्रहरी कार्यालय तुलसीपुरबाट प्रहरी निरीक्षकको कमान्डमा टोली खटिएको थियो ।
प्रहरी टोलीले उक्त स्थानबाट निजहरूका साथबाट विभिन्न सवारी दर्ता किताब र नक्कली छाप बरामद गरिएको हो । बरामद सामानमा बा.प्र.०२-०४६ प ३३३२ नम्बरको मोटरसाइकलको सवारी दर्ता किताब एक थान, यातायात व्यवस्था सेवा कार्यालय वीरेन्द्रनगर, सुर्खेतको ‘डिजिटल’ छाप एक थान, रा२प ३११५ नम्बरको सवारी दर्ता किताब एक थान र बाग्मती प्रदेश ०२-०४५ प १७३० नम्बरको यामाहा भि-३ मोटरसाइकल एक थान रहेका प्रवक्ता प्रहरी नायब उपरीक्षक बोहराले जानकारी दिए ।
प्रहरीले उनीहरूविरुद्ध लिखतसम्बन्धी कसुरमा जिल्ला अदालत घोराहीबाट पाँच दिनको म्याद थप अनुमति लिई थप अनुसन्धान अघि बढाएको जनाएको छ ।


