काठमाडौं । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ४ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका-३२ बस्ने रौतहट घर भएका २९ वर्षीय अनन्त कोईराला, काठमाडौं गोकर्णेश्वर नगरपालिका-५ बस्ने इलाम घर भएका ४७ वर्षीय जगत बहादुर खड्का, काठमाडौं महानगरपालिका-२६ बस्ने तारकेश्वर नगरपालिका-६ घर भएका ५४ वर्षीय ज्ञानु श्रेष्ठ र भक्तपुर, भक्तपुर नगरपालिका-१५ बस्ने रामेछाप घर भएका २२ वर्षीय बिकास श्रेष्ठ रहेका छन् ।
पक्राउ मध्ये अनन्तले फिनल्याण्ड पठाइदिन्छु भनी १ जना पीडितबाट ३१ लाख १५ हजार ८७ रूपैयाँ, जगतले कतार पठाइदिन्छु भन्दै १ जना पीडितबाट १ लाख ३९ हजार रूपैयाँ, ज्ञानुले युएई पठाइदिन्छु भन्दै १ जना पीडितबाट ३ लाख रूपैयाँ र बिकासले साईप्रस पठाइदिन्छु भन्दै १ जना पीडितबाट ९ लाख रूपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले जगतलाई काठमाडौं महानगरपालिका-३ बाट बुधबार तथा अनन्तलाई काठमाडौं महानगरपालिका-२९ बाट, ज्ञानुलाई काठमाडौं महानगरपालिका-२६ बाट र बिकासलाई भक्तपुर नगरपालिका-१० बाट बिहीबार पक्राउ गरेको हो ।
पक्राउ मध्ये अनन्तलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ भने जगत, ज्ञानु र बिकासलाई वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।


