म्याग्दी । सरकारी सेवालाई नागरिकको घरदैलोमै पु¥याउने लक्ष्यसहित जिल्ला हुलाक कार्यालयले जिल्लाभर कार्यरत हल्करालाई उत्प्रेरणा तथा अभिमुखीकरण गरेको छ ।
सेवा प्रवाहलाई थप प्रभावकारी, छिटो र विश्वसनीय बनाउने उद्देश्यले सञ्चालन गरिएको कार्यक्रमले हुलाक सेवामा नयाँ ऊर्जा थप्ने अपेक्षा गरिएको छ । सरकारले अघि सारेको शासकीय सुधारसम्बन्धी एक सय कार्यसूचीअन्तर्गत हुलाकमार्फत सेवा विस्तार गर्ने योजनालाई व्यवहारमा उतार्न यस्तो पहल गरिएको हो ।
विशेषगरी राहदानीलगायत महत्वपूर्ण सरकारी कागजात घरमै पु¥याउने लक्ष्यलाई सफल बनाउन हल्कराको भूमिकालाई थप सुदृढ बनाउन उनीहरुलाई उत्प्रेरणा प्रदान गरिएको जिल्ला हुलाक कार्यालयका प्रमुख रमेश थापाले जानकारी दिए ।
कार्यक्रममा जिल्ला तथा पालिका हुलाक कार्यालयअन्तर्गत कार्यरत हल्करालाई कार्यालय प्रमुख थापा तथा शाखा प्रमुखहरुले सहजीकरण गर्दै सेवाको गुणस्तर, समय व्यवस्थापन र जिम्मेवारीबारे अभिमुखीकरण गरेका थिए । यसैबीच उत्कृष्ट कार्यसम्पादन गर्ने हल्करा रमेश शर्मा, सबैभन्दा धेरै चिट्ठी वितरण गर्ने रघुगङ्गा गाउँपालिकाकी शोभा सुवेदी तथा पोष्ट म्यान बुक उत्कृष्ट राख्ने दिपक सुवेदी सम्मानित भएका थिए ।
जिल्ला हुलाक कार्यालयका प्रमुख थापाका अनुसार हुलाक सेवालाई सरकारी ‘कुरियर सेवा’का रूपमा विकास गर्दै नागरिकलाई सहज र छरितो सेवा दिनेतर्फ ध्यान केन्द्रित गरिएको छ । साथै, डाँक रेखाको पुनरावलोकनका लागि अन्तरक्रिया गरिएको उनले जानकारी दिए ।
वालेन्द्र शाह प्रधानमन्त्रीमा नियुक्त भएपछि सरकारले नागरिकता, राहदानीलगायत सरकारी कागजात घरघरमा पु¥याउने घोषणा गरेको थियो । सरकारको उक्त घोषणालाई बुधबारदेखि नै म्याग्दीमा कार्यान्वयनमा ल्याइएको छ । तत्काल राहदानी सेवालाई हुलाकमार्फत सेवाग्राहीको घरदैलोमा पु¥याउने व्यवस्था प्रारम्भ गरिएको छ ।


