काठमाडौं । स्थानीयले श्रमदान गरेर म्याग्दीको अन्नपूर्ण गाउँपालिका-६ मा रहेको पर्यटकीयस्थल घोरेपानी जोड्ने सडकको लुलियाघुम्ती खण्डको मर्मत गरी सहज यातायात सञ्चालनको व्यवस्था मिलाएका छन् ।
पोखरेबगर-घोरेपानी सडकको लुलियाघुम्तीमा दुर्घटना बढ्न थालेपछि स्थानीयले श्रमदानमार्फत मर्मत गरेका हुन् । पोखरेबगर, कुरमुनी, हल्लेखर्क, बिरौटा, भुवानीथान र घारगाउँका ८० जनाले दुई दिन श्रमदान गरेर मर्मत गरेका पोखरेबगर युवा क्लबका अध्यक्ष रामकृष्ण खड्काले जानकारी दिए ।
अन्नपूर्ण गाउँपालिकाले उपलब्ध गराएको जाली भरेर १३ घनमिटर पर्खाल निर्माण र उकालो घुम्तीमा करिब ३० मिटर दूरीमा ढुंगा बिछ्याइएको छ । मर्मतपछि सडकमा सहज रूपमा सवारीसाधन सञ्चालन हुन थालेका उनले बताए । अन्नपूर्ण गाउँपालिका-६ का वडाध्यक्ष रामबहादुर खड्का, स्थानीय राजाराम बरुवाल, बिपिन बरुवाल, रामकृष्ण खड्काको समन्वयमा सडक मर्मतका लागि यसै हप्ता श्रमदान अभियान सञ्चालन भएको थियो ।
सडक मर्मतका क्रममा ढुंगा ढुवानी, खाजा, डोजर परिचालनका लागि मुक्तिनाथ केबुलकार प्रालिबाट ५० हजार नगद र अन्य दाताहरूबाट सामग्री सहयोग भएको छ । लुलियाघुम्ती र हल्लेखर्च पहिरो क्षेत्रमा सडकको जीर्ण अवस्थाका कारण स्थानीयवासीका साथै पर्यटकीयस्थल घोरेपानी भ्रमणमा जाने पर्यटकलाई समस्या हुँदै आएको थियो ।
स्थानीय उद्यमी शिव खड्काका अनुसार पहिरोका कारण साँघुरिएको, ग्रेड र मोड नमिलेको लुलियाघुम्ती र हल्लेखर्क पहिरोमा सवारीसाधन उक्लन नसक्ने, बीचैमा अड्किने, दुर्घटना हुनेलगायत समस्या बढेको थियो । संघीय सरकारले बजेट विनियोजन गरेको योजना कार्यान्वयनमा भएको ढिलाइका कारण जोखिम बढेपछि समुदायस्तरमा श्रमदान गरेर अस्थायी रूपमा मर्मत थालिएको वडाध्यक्ष रामबहादुर खड्काले बताए ।
‘लुलियाघुम्ती, हल्लेखर्कको सडक सुधारका लागि स्थानीय पूर्वाधार विकास कार्यालय पोखराले आयोजना कार्यान्वयनमा गरेको ढिलाइले दुर्घटनाको जोखिम र सास्ती बढाएको छ’, उनले भने, ‘जनप्रतिनिधिबाट निरन्तर ताकेता भएपछि कार्यालयले बिहीबार मात्रै तीन करोड बजेट विनियोजन भई आयोजना कार्यान्वयनका लागि ठेक्का आह्वान गरेको छ ।’
घोरेपानीको वनपाखा लालीगुराँस फुलेर रंगिएकाे छ । कास्कीको बिरेठाटीतर्फबाट पनि घोरेपानी सडकले जोडिएको छ । बिरेठाँटी उल्लेरी हुँदै घोरेपानी जोड्ने सडक नयाँ मार्ग खुलेकाले भालेओडार क्षेत्रमा हिलोमा फस्ने समस्या रहेको स्थानीय बताउँछन् । लालीगुराँसको जंगल, पुनहिलबाट हिमशृंखला अवलोकनका लागि सवारीसाधन चढेर घोरेपानी जाने आन्तरिक पर्यटकको घुइँचो बढेको छ ।


