CLI

आजदेखि देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै

काठमाडौं । सरकारले आज र सोमबार देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ खुवाउँदै छ । राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रमअन्तर्गत स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले दुईदिन भिटामिन ‘ए’सँगै जुकाको औषधि पनि खुवाउन थालिएको  स्वास्थ्य सेवा विभागको पोषण शाखा प्रमुख लिलाविक्रम थापाले जानकारी दिए ।

उनका अनुसार कार्यक्रमअन्तर्गत ६ महिनादेखि ५९ महिनाका करिब २२ लाख बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल खुवाइनेछ । यस्तै, एक वर्षदेखि पाँच वर्षमुनिका करिब २० लाख बालबालिकालाई जुकाको औषधि ‘अलबेन्डाजोल’ पनि खुवाउन थालिएको छ ।

त्यसका लागि स्थानीय तहले पायक पर्ने ठाउँमा खोप केन्द्र स्थापना गरेका छन् । कार्यक्रममा करिब ५२ हजार महिला स्वास्थ्य स्वयम्‌सेविका र १५ हजार स्वास्थ्यकर्मी परिचालन गरिएका छन् ।

भिटामिन ‘ए’ले आँखाको ज्याति, रोग प्रतिरोधात्मक क्षमता र बालबालिकाको वृद्धि विकासमा महत्त्वपूर्ण भूमिका खेल्ने र जुकाको औषधिले पेटका किरा हटाउनुका साथै बालबालिकालालाई कुपोषण, रगतको कमी, पेट दुख्ने, झाडापखालाजस्ता समस्याबाट बचाउने चिकित्सकले जनाएका छन् ।

भिटामिन ‘ए’ कमिको रोकथाम तथा उपचारका लागि २०५० मा आठ जिल्लाबाट सुरु भएको कार्यक्रम २०५९ देखि देशभरि नै लागू गरिएको थियो ।

यस्तै, जुका नियन्त्रण तथा रोकथामको लागि विसं २०५६ बाट १३ जिल्लाबाट सुरु गरिएको जुकाको औषधि खुवाउने कार्यक्रम २०६७ सालबाट सबै जिल्लामा लागू गरिएको थियो । प्रत्येक आर्थिक वर्षमा कात्तिक र वैशाखमा भिटामिन ‘ए’ र जुकाको निःशुल्क खुवाउने गरिएको छ  ।

Leave Your Comment

Related News