RE
Global College

नेपाल-भारत सीमा क्षेत्रमा कडाइप्रति नेपाली बिस्कुट उत्पादक संघले गर्यो स्वागत

काठमाडौं । नेपाल बिस्कुट उत्पादक संघले सरकारले सीमावर्ती क्षेत्रमा अवैध आयात नियन्त्रण गर्न थालेको कदमको स्वागत गरेको छ ।

देशका ठूला १४ वटा बिस्कुट उद्योग समेत संघले जारी गरेको संयुक्त विज्ञप्तिमा यस्तो कडाइले स्वदेशी उद्योग संरक्षण, रोजगारी वृद्धि र राष्ट्रिय अर्थतन्त्र सुदृढ बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरेको छ।

संघका अनुसार नेपालमा करिब ४० वटा बिस्कुट उद्योग स्थापना भएका छन्, जसमध्ये हाल १७ वटा सञ्चालनमा छन् भने बाँकी उद्योग बन्द अवस्थामा रहेका छन्। यस क्षेत्रबाट करिब १० हजार प्रत्यक्ष र १ लाखभन्दा बढी अप्रत्यक्ष रोजगारी सिर्जना भएको छ। साथै, कृषि क्षेत्रमा पनि ठूलो योगदान पुगेको जनाइएको छ।

विज्ञप्तिमा सीमावर्ती क्षेत्रमा हुने अवैध आयातका कारण नेपाली उत्पादनको बजार प्रभावित भएको उल्लेख गरिएको छ। कर नतिरी भित्रिने वस्तुका कारण स्वदेशी उद्योग दबाबमा परेको भन्दै सरकारले सीमा व्यवस्थापन कडा बनाउनु सकारात्मक कदम भएको संघको भनाइ छ।

संघले अवैध आयात नियन्त्रण भएमा हालको कर राजस्वमा उल्लेख्य वृद्धि हुने र उद्योगले तिर्ने कर २०० करोड रुपैयाँबाट बढेर ३०० करोड रुपैयाँसम्म पुग्न सक्ने अनुमान गरेको छ। साथै, ५ हजारभन्दा बढी युवालाई थप रोजगारी सिर्जना गर्न सकिने पनि जनाएको छ।

यसअघि पनि यस्ता नीतिगत कडाइपछि स्वदेशी उत्पादनको माग बढेको, बन्द उद्योग पुनः सञ्चालनमा आएको र राजस्वमा वृद्धि भएको अनुभव रहेको संघले उल्लेख गरेको छ। त्यसैले यस्ता नीति दीर्घकालीन रूपमा निरन्तर लागू हुनुपर्नेमा जोड दिइएको छ।

संघले उपभोक्तालाई नेपाली उत्पादनलाई प्राथमिकता दिन आग्रह गर्दै व्यापारी तथा खुद्रा विक्रेतालाई पनि स्वदेशी सामानलाई प्राथमिकता दिन अनुरोध गरेको छ। “पहिले नेपाली उत्पादन” अभियानलाई सशक्त बनाउँदै देशको आर्थिक विकासमा योगदान पुर्‍याउन सबैलाई आह्वान गरिएको छ।

संघले अन्त्यमा नेपाली श्रम, उत्पादन र भविष्यको सम्मान गर्दै स्वदेशी उद्योगलाई निरन्तर साथ दिन सबै पक्षसँग अपिल गरेको छ।

बालेन सरकारले भारतबाट आयात हुने रू। १०० भन्दा बढीका सामानमा भन्सार लिइने भन्दै सीमावर्ती क्षेत्रमा प्रहरी सक्रियता बढाएको छ ।

NECO

Leave Your Comment

Related News