CLI

गृहमन्त्रीको राजीनामा माग गर्दै तत्काल छानबिन सुरु गर्न सरकारसँग काँग्रेसको आग्रह

काठमाडौं । नेपाली कांग्रेसले गृहमन्त्री सुधन गुरुङको राजीनामा माग गर्दै तत्काल छानबिन सुरु गर्न सरकारसँग आग्रह गरेको छ।

सोमबार नेपाली कांग्रेसका प्रवक्ता देवराज चालिसेले प्रेस विज्ञप्ति जारी गरी गृहमन्त्री गुरुङबारे आएका समाचारले गम्भीर प्रश्न उठाएको जनाएका छन्। कांग्रेसले भनेको छ, ‘गृहमन्त्रीसँग सम्बन्धित पछिल्लो प्रकरणले सार्वजनिक चासो मात्र होइन, राजनीतिक नैतिकता र पारदर्शितासँग जोडिएको गम्भीर प्रश्न उठाएको छ।’

सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा पक्राउ परेका व्यवसायी दिपक भट्टसँग गृहमन्त्री गुरुङको व्यापारिक साझेदारी रहेको भन्दै समाचार आएका छन्। त्यस्तै, गृहमन्त्री गुरुङले जेनजी आन्दोनलपछि खरिद गरेको शेयरबारे सम्पत्ति विवरण उल्लेख नगरेको पनि आरोप छ।

यिनै विषयलाई लिएर कांग्रेसले गृहमन्त्री गुरुङमाथि तत्काल छानबिन प्रक्रिया सुरु गर्न सरकारसँग माग गरेको हो। यस विषयमा ढिलासुस्ती गर्न नहुने कांग्रेसको भनाइ छ।

‘नेपाली कांग्रेस सरकारसमक्ष स्पष्ट माग गर्दछ  गृहमन्त्रीसँग सम्बन्धित सम्पूर्ण आरोपहरूको स्वतन्त्र, निष्पक्ष र उच्चस्तरीय छानबिन प्रक्रिया तुरुन्त प्रारम्भ गरियोस्,’ विज्ञप्तिमा भनिएको छ, ‘यस विषयलाई ढिलासुस्ती, प्रभाव वा ढाकछोपतर्फ लैजाने कुनै पनि प्रयासले सुशासन, नैतिकता र जनविश्वासमाथि गम्भीर आघात पुर्‍याउनेछ।’

गृहमन्त्री गुरुङमाथि निष्पक्ष रुपमा अनुसन्धान गर्ने वातावरण बनाउन पनि कांग्रेसले आग्रह गरेको छ। यसका लागि गृहमन्त्री गुरुङले राजीनामा दिनुपर्ने कांग्रेसको माग छ।

‘सम्बन्धित पदमा रहँदै अनुसन्धान प्रक्रियामा प्रत्यक्ष वा अप्रत्यक्ष प्रभाव पर्ने आशंका उत्पन्न हुनु स्वाभाविक हो। त्यसैले अनुसन्धानलाई स्वतन्त्र, निष्पक्ष र प्रभावरहित बनाउन आवश्यक वातावरण सुनिश्चित गरिनुपर्छ भन्ने हाम्रो स्पष्ट धारणा छ,’ कांग्रेसले भनेको छ।

Leave Your Comment

Related News