काठमाडौं । उत्तरी जापानमा शक्तिशाली भूकम्प गएको छ, जसका कारण सुनामी चेतावनी पनि जारी गरिएको छ । जापान मौसम विज्ञान एजेन्सीका अनुसार ७.५ म्याग्निच्युडको भूकम्प इवाते प्रिफेक्चरको सानरिकु तट नजिक सोमबार साँझ ४:५२ बजे गएको हो ।
भूकम्पपछि इवाते प्रिफेक्चर तथा होक्काइदो र आओमोरीका केही भागहरूमा ३ मिटर सम्मको सुनामी आउन सक्ने चेतावनी जारी गरिएको जापानी सञ्चार माध्यम एनएचकेले जनाएको छ । । साथै होक्काइदो, आओमोरी, मियागी र फुकुशिमा क्षेत्रमा १ मिटर सम्मको सुनामी आउन सक्ने परामर्श दिइएको छ।
इवातेको कुजी बन्दरगाहमा ८० सेन्टिमिटर उचाइको सुनामी अवलोकन गरिएको छ भने मियाको बन्दरगाह, उराकावा टाउन र हाचिनोहे बन्दरगाहमा ४० सेन्टिमिटर सम्मको लहर पुगेको छ। अधिकारीहरूका अनुसार पानीको सतह अझै बढ्ने क्रममा छ र दोस्रो तथा तेस्रो लहर अझ ठूलो हुन सक्ने चेतावनी दिइएको छ।
भूकम्पका कारण तोहोकु क्षेत्रमा “लङ्ग–पिरियड ग्राउन्ड मोसन” (दीर्घ-अवधि कम्पन) पनि महसुस गरिएको छ, जसले अग्ला भवनहरूमा बस्ने मानिसहरूलाई बढी असर गर्ने बताइएको छ। केही स्थानमा यस्तो कम्पनको स्तर ३ पुगेको छ, जसले उभिन समेत गाह्रो बनाउने र फर्निचर ढलाउन सक्ने जनाइएको छ।
सरकारले जापानको प्रधानमन्त्री कार्यालय अन्तर्गत आपतकालीन कार्यदल गठन गरेको छ । सोमबार साँझसम्म करिब १ लाख ७० हजारभन्दा बढी मानिसलाई सुरक्षित स्थानमा सार्न निर्देशन दिइएको छ । यातायाततर्फ, तोहोकु, यामागाता र अकिता शिन्कान्सेन सेवाहरू आंशिक रूपमा अवरुद्ध भएका छन् भने केही स्थानीय रेल सेवा पनि रोकिएका छन् । तर सेन्दाइ र शिन-चितोसे विमानस्थलहरू सामान्य रूपमा सञ्चालन भइरहेका छन्।
यसैबीच, टोकियो इलेक्ट्रिक पावर कम्पनीले फुकुशिमा दाइइची र दाइनी आणविक केन्द्रहरूमा कुनै असामान्यता नभएको जनाएको छ । विकिरण स्तर सामान्य रहेको र अन्य आणविक केन्द्रहरू पनि सुरक्षित रहेको अधिकारीहरूले बताएका छन्।
अधिकारीहरूले प्रभावित क्षेत्रका बासिन्दालाई सतर्क रहन, सुरक्षित स्थानमा बस्न र चेतावनी हटेपछि मात्र घर फर्कन आग्रह गरेका छन्। आगामी दिनहरूमा थप परकम्प (आफ्टरशक) आउन सक्ने सम्भावना पनि औंल्याइएको छ।


