काठमाडौं । कास्कीको अन्नपूर्ण गाउँपालिका– १० र ११ स्थित रमणीय गाउँ घान्द्रुकमा यतिबेला पर्यटकको चहलपहल बढेको छ । दोस्रो मुख्य पर्यटकीय याम सुरु भएसँगै यहाँ आन्तरिक तथा बाह्य पर्यटकको आवतजावत बाक्लिएको हो ।
घान्द्रुक पर्यटन व्यवस्थापन समितिका अध्यक्ष विक्रम गुरुङले सप्ताहन्तमा दैनिक एक हजारदेखि एक हजार २०० सम्म पर्यटक आउने गरेका जानकारी दिए । ‘अन्य दिनमा पनि छ–सात सय पर्यटक भित्रिरहेका छन्’, उनले भने, ‘सरकारले सातामा दुई दिन बिदा दिने निर्णय गरेपछि पर्यटकीय गतिविधि थप बढ्ने अपेक्षा लिइएको छ ।’
‘सबै मौसममा पर्यटन’को मूलमन्त्रसहित स्थानीय पर्यटन व्यवसायीले घान्द्रुकको प्रवर्द्धन गर्दै आएका छन् । संस्कृति र प्रकृतिको संगमस्थल मानिने घान्द्रुक अन्नपूर्ण चक्रीय पदमार्गको आकर्षक गन्तव्यस्थलमा पर्छ । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)अन्तर्गत इलाका संरक्षण कार्यालयका प्रमुख भीमप्रसाद उपाध्यायले घान्द्रुक हुँदै अन्नपूर्ण क्षेत्रको घुमफिर गर्न आउनेमध्ये बढी भारतीय पर्यटक रहेको बताए । यो याममा एकैदिनमा ८५६ जनासम्म विदेशी पर्यटक यस क्षेत्रमा आएको उनको भनाइ छ ।
पछिल्लो समय भारतीय पर्यटकको संख्या बढ्दो छ, आन्तरिक पर्यटन पनि उत्तिकै फस्टाएको छ । चल्तीका पदमार्ग, आकर्षक गन्तव्यस्थल र व्यवस्थित पर्यटकीय पूर्वाधारका कारण यस क्षेत्र पर्यटकको रोजाइमा पर्ने गरेको कार्यालय प्रमुख उपाध्यायको भनाइ छ । सडकको पहँच विस्तारले घान्द्रुकमा आन्तरिक पर्यटकको आवतजावत पछिल्लो समय बढेको हो ।
अन्नपूर्ण गाउँपालिका– १० का वडाध्यक्ष गौतम गुरुङले घान्द्रुकलाई पर्यटन बजारमा बिकाइराख्न यहाँको मौलिकता र पहिचान जोगाउनुपर्ने बताए । पछिल्लो समय तीव्र रूपमा निर्माण भइरहेका कङ्क्रिटका संरचनाले गाउँको मौलिक स्वरूप बिगारेको उनको भनाइ छ । परम्परागत सामग्री र शिल्प प्रयोग गरेर घर निर्माण गर्नेलाई गाउँपालिकाले अनुदानको नीति ल्याउन लागेको वडाध्यक्ष गुरुङले बताए ।
२०२६/२७ तिर स्थानीय शङ्करमान गुरुङले घान्द्रुकमा पर्यटनको जग बसालेका थिए । घान्द्रुक गाउँ अहिले चल्तीको गन्तव्यका रूपमा देशीविदेशीमाझ परिचित छ । बर्सेनि हजारौँ पर्यटकले यहाँ पाइला टेक्छन् । प्रकृति र संस्कृतिमा रमाउँछन् । पर्यटकीय चहलपहल बढे पनि घान्द्रुकको असली पहिचान गुम्ने हो कि भन्ने पिरलो गुरुङलगायत गाउँका अगुवालाई छ ।
घान्द्रुक उहिलेको जस्तो छैन । जीवनशैली, रहनसहन फेरिँदो छ । नयाँ बनिरहेका संरचनाले गाउँको मौलिक स्वरुप भने खल्बलिएको छ । पर्यटकको आवतजावत बढेसँगै कराडौँ लगानीमा होटलदेखि रिसोर्टसम्म खुलेका छन् । आधुनिकताले गाउँको पुरानो चिनारीलाई विस्थापित गर्दै छ ।
मौलिकता जोगाउन नसके घान्द्रुकको पर्यटनको भविष्य पनि संकटमा पर्ने देखेर स्वयं पर्यटन व्यवसायी पनि चिन्तित छन् । घान्द्रुकबाट नजिकै देखिने अन्नपूर्ण र माछापुच्छ्रे हिमशृङ्ख्लाको दृश्य यहाँको मुख्य आकर्षण हो । घान्द्रुकको गाउँले परिवेश र संस्कृतिले पर्यटकलाई लोभ्याउने गरेको छ ।
पर्यटन व्यवस्थापन समितिका अनुसार घान्द्रुकमा रिसोर्टसहित ८० वटा होटल छन् भने पैतीस वटा घरबास छन् । पर्यटन व्यवसायमा अर्बौंको लगानी छ । सयौँले रोजगारी पाएका छन् । भारतीय, चिनियाँदेखि युरोप, अमेरिकासम्मका पर्यटक यहाँ आउने गरेका छन् ।
अन्नपूर्ण संरक्षण क्षेत्रको अन्नपूर्ण आधार शिविर, म्याग्दीको पुनहिल–घोरेपानीलगायत जोड्ने पदमार्गमा पर्ने घान्द्रुक पर्यटकको विश्रामस्थलका रुपमा समेत लिइन्छ । पोखरा–बागलुङ राजमार्गको नयाँपुलदेखि बिरेठाँटी, स्याउलीबजार, किञ्चे हुँदै पाँच–छ घण्टाको पदयात्रामा घान्द्रुक पुग्न सकिन्छ । मोटरमा पोखराबाट घान्द्रुक पुग्न दुई घण्टा लाग्छ ।


