CLI

प्रकाशकीय

काठमाडौं । आजबाट हामी ( www.equitynepal.com) ९ वर्षमा प्रवेश गरेका छौं ।  वार्षिकोत्सवको यस अवसरमा हामी हाम्रा पाठक, सूचनाका स्रोत, विज्ञापन दाता, सहयोगी मन र सम्पूर्ण सरोकारवालाप्रति हार्दिक कृतज्ञता व्यक्त गर्दछौँ।

आज हामी केवल यात्राको उत्सव मात्र मनाइरहेका छैनौँ, हामी एउटा दृष्टिकोण, प्रतिबद्धता र जिम्मेवार पत्रकारिताको अभ्यासलाई पनि पुनःस्मरण गरिरहेका छौँ । अर्थतन्त्रको सवलीकरणमा योगदान गर्ने ध्येय राखेर सुरु भएको हाम्रो यो यात्रालाई सूचना प्रवाहको माध्ययम मात्र होइन, आर्थिक विकासका मुद्दालाई जिम्मेवार ढंगले स्थापित गर्न प्रयासरत छौं ।

आजको परिवेशमा मिडिया सञ्चालन आफैमा चुनौतीपूर्ण बन्दै गएको छ । आम्दानीका स्रोतहरू संकुचित हुँदै गएका छन् । विज्ञापन बजार डिजिटल प्लेटफर्मतर्फ सर्दै गएको छ । यसले सञ्चारमाध्यमहरू वित्तीय संकटको मारमा पर्न थालेका छन् ।

अर्कोतर्फ सरकारी नीतिगत व्यवस्था र यसको कार्यान्वयनका केही पक्षहरुले मिडिया सञ्चालन प्रक्रियामा व्यवहारिक चुनौती थपेको छ । विशेषगरी विज्ञापन नीति, कर संरचना, दर्ता तथा नवीकरण प्रक्रिया, र नियामक निकायका विविध प्रावधानहरुका कारण सञ्चारमाध्यमहरुले प्रशासनिक प्रक्रियागत जटिलता भोगिरहेका छन ।

विज्ञापनमा एकरुपता नहुनु, कर नीतिको स्पष्टता अभाव, र प्रक्रियागत जटिलताले मिडियाको दिगो आर्थिक व्यवस्थापनमा असर पारेको छ । त्यसैले मिडिया क्षेत्रको सुदृढीकरणका लागि नीतिगत स्पष्टता, सरलता र स्थायित्व आवश्यक रहेको छ । यसमा सरकारको ध्यान आकर्षण हुन जरुरी छ ।

यसैगरी, उत्कृष्टताको कसीमा नेपाली पत्रकारिता आलोचित छ । समाचार सामाग्री स्तुतीपरक र व्यक्तिकेन्द्रित प्रस्तुतीकरणमा सीमित रहेको र मुद्दा केन्द्रित बन्न नसकेको आरोप छ । यसले जनजीवनसँग प्रत्यक्ष जोडिएका गम्भीर मुद्दाहरु ओझेलमा परेको कुरा जन-संवादमा सुनिन थालेका छन । हामीले प्रशस्त सम्भावना  हुँदाहुँदै पनि नेपाली पत्रकारिताले अपेक्षित स्तरमा आशा र चेतना जागृत गर्न नसकेको स्वीकार गर्नै पर्छ ।

यसरी हेर्दा हाम्रो मुख्य चुनौती गुणस्तरीय सामग्री उत्पादन र संस्थागत दिगोपनाबीच सन्तुलन कायम गर्नुमा छ । यस परिवेशमा हामी आम पाठक वर्गलाई साक्षि राखि आगामि दिनमा यो चुनौतिलाई कुसलतापुर्वक अवसरमा बदल्ने र उत्तरदायी पत्रकारितामा निरन्तर  प्रतिबद्ध रहने संकल्प गर्दछौं ।

धन्यवाद !

Leave Your Comment

Related News