काठमाडौं । नेपाल टेलिकमले समर अफर २०८३ अन्तर्गत विभिन्न आकर्षक प्याक तथा सुविधाहरु उपलब्ध गराउने भएको छ। यसअन्तर्गत कम्पनीले विभिन्न सुविधा सहितका नयाँ भ्वाइस तथा डाटा प्याकेजहरु सञ्चालनमा ल्याएको छ।
नेपाल टेलिकमको प्रिपेड मोबाइलमा उपलब्ध २८ दिनको प्याकेजलाई सेवाग्राहीको सुविधालाई मध्यनजर गरी ३० दिनको बनाइएको छ। अब सबै प्याकेजहरु ३० दिनका हुनेछन्। त्यसैगरी भ्वाइस प्याक अन्तर्गत ३० दिनको प्याकेजहरु अब सबै नेटवर्कमा कल गर्न सकिने (अल–नेट) सुविधा सहित उपलब्ध हुनेछन्।
डाटा प्याक अन्तर्गत रु. ५४९ मा ४० जीबी र रु. ९९९ मा १०० जीबी डाटा प्याक उपलब्ध हुनेछ। रु. ५९९ मा २ जीबी प्रतिदिन र रु. ३४९ मा १ जीबी प्रतिदिन प्रयोग गर्न सकिने मासिक डाटा प्याक उपलब्ध हुनेछ।
अनलिमिटेड प्याकेज अन्तर्गत रु. २५ मा १ घण्टा सम्म चलाउन मिल्ने अनलिमिटेड भ्वाइस तथा डाटा प्याकेज उपलब्ध हुनेछ भने रु. ९९९ मा ३० दिन सम्म प्रतिदिन चलाउन मिल्ने ५ एमबीपीएस डाटा प्याकेज उपलब्ध हुनेछ। यसै अनुसार अन्य प्याकेजका साथै नाइट र कम्बो प्याकेज समेत उपलब्ध छन्।
भ्वाइस र डाटा प्याकेजमा अन्य विभिन्न आकर्षक प्याकेजहरु समेत उपलब्ध रहेका छन्। त्यसैगरी बन्डल्ड प्याक, एड अन प्याकेज, सीयूजी प्याकेज, एसएमएस प्याक, एफटीटीएच प्याक आदि समेत उपलब्ध छन्।
समर अफर २०८३ भोलि बैशाख ११ देखि लागू हुनेछ। ग्राहकले आफ्नो मोबाइलबाट स्टार१४१५ह्यास डायल गरेर तथा ‘नेपाल टेलिकम’ एपको प्रयोगबाट विभिन्न प्याकेजहरु सम्बन्धी जानकारी लिन तथा सेवा खरिद गर्न सक्नेछन्। त्यसैगरी कम्पनीको वेबसाइटमार्फत पनि यस सम्बन्धमा विस्तृत जानकारी प्राप्त गर्न र सेवा खरिद गर्न सकिन्छ।


