CLI

उद्यमी व्यवसायीलाई धरपकड गर्दा अर्थतन्त्र गम्भीर संकटमा पर्छः निजी क्षेत्र

काठमाडौं । शेखर गोल्छालाई केन्द्रीय अनुसन्धान ब्यूरो (CIB) ले पक्राउ गरेपछि निजी क्षेत्रका तीन प्रमुख संस्थाले गम्भीर आपत्ति जनाएका छन् । नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ र नेपाल चेम्बर अफ कमर्सले संयुक्त विज्ञप्ति जारी गर्दै उद्यमी–व्यवसायीमाथि भइरहेको धरपकड र थुनछेकप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएका हुन्।

नयाँ सरकार गठनपछि मुलुकमा स्थायित्व कायम भई लगानीमैत्री वातावरण बन्ने अपेक्षा गरिएको भए पनि पछिल्ला घटनाले निजी क्षेत्र निरुत्साहित भएको उनीहरूको भनाइ छ।

विज्ञप्तिमा अर्थतन्त्रमा करिब ८१ प्रतिशत योगदान र रोजगारीमा करिब ८६ प्रतिशत हिस्सा ओगट्ने निजी क्षेत्र त्रासमा रहनुपर्ने अवस्था सिर्जना हुनु गम्भीर विषय भएको उल्लेख गरिएको छ। यसले अर्थतन्त्र, रोजगारी, राजस्व संकलन तथा पूर्वाधार विकासमा समेत नकारात्मक असर पार्ने चेतावनी दिइएको छ।

नियामकीय निकायका प्रतिवेदनका आधारमा मात्र व्यवसायीलाई पक्राउ गरिएको सन्दर्भमा आर्थिक कसुरका विषयमा पहिले स्पष्टिकरण सुन्ने र दोष प्रमाणित भएपछि मात्र थुनछेक गर्ने दृष्टिकोण अपनाउन सरकारलाई आग्रह गरिएको छ।

व्यवसायीहरूले अनुसन्धानमा पूर्ण सहयोग गर्न तयार रहेको र बोलाएको समयमा उपस्थित हुने जानकारी दिँदादिँदै पनि पक्राउ गरिनु निजी क्षेत्रका लागि दुःखद र चिन्ताजनक भएको विज्ञप्तिमा उल्लेख छ। यसले लाखौं रोजगारी, आपूर्ति श्रृंखला, बैंकिङ प्रणाली तथा समग्र आर्थिक प्रणालीमै असर पार्ने उनीहरूको भनाइ छ।

निजी क्षेत्रले सरकारको लगानीमैत्री नीति निर्माणमा निजी क्षेत्रलाई समेट्ने प्रयासलाई सकारात्मक रूपमा लिएको भए पनि हालका गतिविधिले विश्वास कमजोर बनाएको जनाएको छ। निजी क्षेत्र संरक्षण तथा प्रवर्द्धन रणनीति अघि बढिरहेको अवस्थामा यस्तो धरपकडले थप अन्योल सिर्जना गरेको उनीहरूको भनाइ छ।

विज्ञप्तिमा संविधानले सुनिश्चित गरेको सम्मानपूर्वक बाँच्न पाउने अधिकार र कसुर प्रमाणित नभएसम्म निर्दोष मानिने कानुनी सिद्धान्तको सम्मान गर्न सरकारलाई आग्रह गरिएको छ। दोषी प्रमाणित भए कानुनअनुसार कारबाही गर्न निजी क्षेत्रको कुनै आपत्ति नरहेको पनि स्पष्ट पारिएको छ।

नयाँ सरकारको स्थिरतासँगै लगानी वृद्धि हुने अपेक्षाबीच यस्ता घटनाले लगानीकर्ता निरुत्साहित हुन सक्ने भन्दै निजी क्षेत्रले सरकारलाई गम्भीर बन्न आग्रह गरेको छ।

Leave Your Comment

Related News