काठमाडौं । नेपाल सरकारले सुरू गरेको सुकुम्वासी/भूमिहीन व्यवस्थापन प्रक्रियामा उनीहरूको उज्जवल भविष्य, सुरक्षित बसोबास र सम्मानजनक जीवनयापन सुनिश्चित गर्नका लागि नेपाल प्रहरी मानवीय संवेदनशीलता सहित परिचालित भएको छ ।
नेपाल सरकारले सुरू गरेको महत्वपूर्ण पहल अन्तर्गत अग्रपंक्तिमा रहेर नेपाल प्रहरीले अन्य सरोकारवाला निकायहरूसँग समन्वय गर्दै काठमाडौं उपत्यकाका थापाथली, गैरीगाउँ, मनोहरा खोला किनार लगायतका विभिन्न स्थानमा रहेका अव्यवस्थित रूपमा रहेको सुकुम्वासी बस्तीको व्यवस्थापनको कार्य गरिरहेको छ ।
प्रहरी महानिरीक्षक दान बहादुर कार्की तथा काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक इश्वर कार्कीले अव्यवस्थित रूपमा रहेको सुकुम्वासी बस्तीको व्यवस्थापन कार्यको स्थलगत अवलोकन गर्नुभई त्यसबारे जानकारी समेत लिएका थिए ।
वास्तविक सुकुम्वासी/भूमिहीनहरूको पहिचान गरी न्यायोचित आवास तथा अधिकार प्रदान गर्ने कार्यमा नेपाल प्रहरीले आफूलाई प्राप्त जिम्मेवारी कुशलतापूर्वक निर्वाह गरिरहेको छ । संभावित प्रतिवाद र अवरोधलाई ध्यानमा राख्दै नेपाल प्रहरीले सूचना संकलन र विश्लेषणलाई प्राथमिकतामा राखि उच्च सतर्कताका साथ प्रभावकारी रूपमा परिचालन भइरहेको छ ।
परिचालित प्रहरीले नागरिकको सुरक्षालाई उच्च प्राथमिकतामा राखि उनीहरूलाई सुरक्षित स्थानमा स्थानान्तरण एवम् व्यवस्थापन गर्ने कार्यमा आवश्यक सहयोग गरिरहेको छ ।
केही स्वार्थी तथा टाठा बाठा व्यक्तिहरूको कारण वास्तविक सुकुम्वासी/भूमिहीनहरू अवसरबाट वञ्चित हुने तथा राज्यबाट प्राप्त हुने सेवा सुविधाबाट समेत टाढा रहनुपर्ने अवस्था सिर्जना भइरहेको तथा सुकुम्वासी/भूमिहीनहरूको नाम र हक/अधिकारको दुरूपयोग गर्दै अनुचित लाभ लिने प्रयास गरिरहेको प्रति नेपाल प्रहरी सचेत भई त्यस्ता कार्यमा संलग्नलाई कानुनी दायरामा ल्याउन समेत क्रियाशील छ ।
नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायव महानिरीक्षक अबि नारायण काफ्ले भन्नुहुन्छ, “वास्तविक पीडितको न्याय, अधिकार र सुरक्षित आवास सहितको भविष्य सुनिश्चित गर्ने कार्यमा नेपाल प्रहरी सदैव प्रतिवद्ध रहँदै आएको छ ।
वास्तविक सुकुम्वासी/भूमिहीनहरू एक जुट भएर राज्यले गर्न लागेको व्यवस्थापन कार्यमा सहयोग तथा सहकार्य गरी सुरक्षा निकायलाई समयमै सहि सूचना दिई आपसी सहयोग गरिदिनुहुन समेत नेपाल प्रहरी अनुरोध गर्दछ ।”


