CLI

चेम्बरद्वारा निर्माण व्यवसायी महासंघ पदाधिकारीको स्वागत, पूर्वाधार क्षेत्रको भुक्तानी समयमै दिन आग्रह

काठमाडौं। नेपाल चेम्बर अफ कमर्सले निर्माण व्यवसायी महासंघका नव–निर्वाचित पदाधिकारी तथा कार्यसमिति सदस्यका लागि सम्मान तथा स्वागत कार्यक्रम आयोजना गरेको छ।

कार्यक्रममा चेम्बर अध्यक्ष कमलेशकुमार अग्रवालले पूर्वाधार विकास नभईकन नेपालमा आयात प्रतिस्थापन हुन नसक्ने बताउँदै पूर्वाधार क्षेत्रलाई सरकारले पहिलो प्राथमिकतामा राख्नुपर्ने बताए। उनले सडक, ऊर्जा, जलस्रोत, शहरी विकास तथा औद्योगिक पूर्वाधारलाई प्राथमिकतामा राखेर दीर्घकालीन योजना निर्माण गर्न सरकारलाई आग्रह गरे।

निर्माण क्षेत्रमा कार्यरत व्यवसायीलाई समयमै भुक्तानी नहुँदा परियोजना प्रभावित हुने गरेको उल्लेख गर्दै उनले भने, ‘जसरी सरकारले १५ दिनभित्र कर्मचारीलाई तलब दिने प्रतिबद्धता व्यक्त गरेको छ, त्यसैगरी पूर्वाधार क्षेत्रको विकासमा योगदान दिने निर्माण व्यवसायीलाई पनि समयमै भुक्तानी दिइनुपर्दछ।’

त्यस्तै, नेपाल चेम्बर अफ कमर्सका बरिष्ठ उपाध्यक्ष दीपककुमार मल्होत्राले सरकारले निजी क्षेत्रलाई साथमा लिएर अगाडि बढे आर्थिक विकासको लक्ष्य हासिल गर्न अझ सहज हुने बताउँदै त्यसका लागि निजी क्षेत्रका समस्या सुनेर अघि बढ्नुपर्ने उल्लेख गरे।

महासंघ अध्यक्ष निकोलस पाण्डेले विकासशील राष्ट्रका लागि पूर्वाधार नै आर्थिक प्रगतिको मेरुदण्ड भएको उल्लेख गर्दै नेपालको वर्तमान सन्दर्भमा निर्माण क्षेत्रलाई अझ सशक्त बनाउनुपर्ने आवश्यकता औंल्याए। उनले हाल निजी क्षेत्रप्रति सरकारी व्यवहार अपेक्षाअनुसार सहयोगी नभएको भन्दै व्यवसायीमा निराशा बढिरहेको बताए।

निर्माण व्यवसायीले भोगिरहेका समस्या ढिला भुक्तानी, जटिल प्रशासनिक प्रक्रिया, लागत वृद्धिका चुनौती समाधान गर्न सरकार गम्भीर बन्नुपर्नेमा उनले जोड दिए।

Leave Your Comment

Related News