काठमाडौं । भारतीय औषधि उद्योगले विश्व बजारमा आफ्नो प्रभाव विस्तार गर्ने क्रममा ठूलो कदम चालेको छ । भारतको सन फार्मास्युटिकलले अमेरिकी महिला स्वास्थ्य सेवा कम्पनी अर्गाननलाई ११ अर्ब ७५ करोड डलरमा खरिद गर्ने सम्झौता गरेको घोषणा गरेको छ । यसलाई भारतीय औषधि कम्पनीहरूको रणनीतिक रूपान्तरणको महत्त्वपूर्ण संकेतका रूपमा हेरिएको छ ।
सोमबार सार्वजनिक गरिएको संयुक्त विज्ञप्तिअनुसार सन फार्माले अर्गाननका लगानीकर्ताहरूसँग रहेको सबै जारी सेयरहरू प्रतिसेयर १४ डलरका दरले पूर्ण नगद कारोबारमार्फत खरिद गर्नेछ । दुवै कम्पनीका सञ्चालक समितिबाट स्वीकृत भइसकेको यो सम्झौता आवश्यक नियामक तथा सेयरधनी अनुमोदन प्राप्त भएपछि सन् २०२७ को सुरुतिर अन्तिम रूप पाउने अपेक्षा गरिएको छ ।
सन फार्माका अध्यक्ष दिलीप साङ्घवीले अर्गाननको पोर्टफोलियो, प्राविधिक क्षमता र विश्वव्यापी उपस्थितिले आफ्नै व्यवसायलाई थप सुदृढ बनाउने विश्वास व्यक्त गरे। उनका अनुसार दुई कम्पनीको संयोजनले अझ व्यापक र विविध प्लेटफर्म निर्माण गर्नेछ, जसले भविष्यको प्रतिस्पर्धामा मजबुत आधार तयार पार्नेछ ।
कम्पनीले यो अधिग्रहण आफ्नो ‘इनोभेटिभ मेडिसिन’ व्यवसाय विस्तार गर्ने दीर्घकालीन रणनीतिसँग मेल खाने जनाएको छ । यसमार्फत सन फार्मा बायोसिमिलर औषधि क्षेत्रमा प्रवेश गर्दै विश्वका शीर्ष १० कम्पनीमध्ये स्थान बनाउने दिशामा अघि बढ्ने लक्ष्य राखिएको छ ।
अर्गाननकी प्रमुख केरी कक्सले पनि यस सम्झौताले आफ्ना सेयरधनीहरूलाई तत्काल र आकर्षक मूल्य प्रदान गरेको उल्लेख गरे। उनले यो सहकार्यले कम्पनीको भविष्यलाई थप मजबुत बनाउने विश्वास व्यक्त गरे।
भारतलाई विश्वको ‘फार्मेसी’ भनेर चिनिन्छ । यस मुलुकबाट गत आर्थिक वर्षमा मात्र ३१ अर्ब डलरभन्दा बढी मूल्यका औषधि निर्यात भएका छन् । परम्परागत रूपमा भारतीय कम्पनीहरूले सस्तो जेनेरिक औषधिमा आधारित व्यापार गर्दै आएका थिए, तर पछिल्ला वर्षहरूमा उनीहरू उच्च मूल्यका जटिल उपचार र नवप्रवर्तनतर्फ अग्रसर हुँदै गएका छन् ।
यस पृष्ठभूमिमा सन फार्मा–अर्गानन सम्झौतालाई केवल एक व्यावसायिक कारोबार मात्र नभई भारतीय औषधि उद्योगको बदलिँदो दिशाको प्रतीकका रूपमा देखिएको छ, जसले विश्व बजारमा प्रतिस्पर्धा गर्ने क्षमतामा नयाँ आयाम थप्ने अपेक्षा गरिएको छ ।


