काठमाडौं । सरकारले सहायता आवश्यक भएका तथा हाल सडकमा अलमलमा परेका नागरिकहरूलाई दर्ता केन्द्रको सम्र्पकमा आउन आग्रह गरेको छ । सरकारले सुकुम्बासी बस्तीहरु खाली गरे सँगै समस्या परेका नागरिकहरुलाई सरकारको सम्र्पकमा आउन शहरी विकास मन्त्रालयले आग्रह गरेको हो ।
‘सहायता आवश्यक भएका तथा हाल सडकमा अलमलमा परेका नागरिकहरूलाई प्राथमिक दर्ता केन्द्रका रूपमा तोकिएको दशरथ रंगशालामा उपस्थित भई दर्ता गर्न अनुरोध छ,’ मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
वास्तविक भूमिहीन नागरिकहरूको डिजिटल लगत संकलन तथा होल्डिङ सेन्टरमार्फत व्यवस्थापन गर्ने प्रबन्ध सरकारले मिलाएको विज्ञप्तिमा उल्लेख छ ।
‘उक्त होल्डिङ सेन्टरमा आवास, भोजन, स्वास्थ्य सेवा, बालबालिकाको शिक्षा तथा मनोवैज्ञानिक परामर्श लगायतका आधारभूत सेवाहरू उपलब्ध गराईएको छ,’ जारी विज्ञप्तिमा भनिएको छ ।
वास्तविक भूमिहीन तथा आर्थिक अवस्थाका कारण स्व व्यवस्थापन गर्न असमर्थ नागरिकलाई दशरथ रंगशालास्थित प्राथमिक दर्ता केन्द्रमा उपस्थित भई सरकारद्वारा उपलब्ध गराइने सेवा सुविधाको लाभ लिन पनि अनुरोध गरिएको छ ।


