CLI

नेपाल टेलिकमको नाफा ९.८५ प्रतिशतले बढ्यो, ९ महिनामा कति कमायो ?

काठमाडौं । नेपाल टेलिकमले चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो ९ महिनामा ६ अर्ब २७ करोड २९ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ९.८५ प्रतिशतले बढी हो। गत वर्ष सोही अवधिमा कम्पनीले ५ अर्ब ७१ करोड रुपैयाँ नाफा आर्जन गरेको थियो।

कम्पनीले सार्वजनिक गरेको तेस्रो त्रैमासिक अपरिष्कृत वित्तीय विवरणअनुसार चालु आर्थिक वर्षको चैत मसान्तसम्म कुल सञ्चालन आय २५ अर्ब ९२ करोड ९६ लाख रुपैयाँ पुगेको छ। यो गत वर्षको सोही अवधिको २५ अर्ब ३१ करोड ७६ लाख रुपैयाँको तुलनामा २.४२ प्रतिशत अर्थात् ६१ करोड २० लाख रुपैयाँले बढी हो।

त्यस्तै, समीक्षा अवधिमा कम्पनीको कुल आय २८ अर्ब ८५ करोड ४८ लाख रुपैयाँ पुगेको छ। गत वर्ष सोही अवधिमा कुल आय २८ अर्ब ४३ करोड १५ लाख रुपैयाँ रहेको थियो। यसअनुसार कुल आयमा १.४९ प्रतिशत अर्थात् ४२ करोड ३३ लाख रुपैयाँको वृद्धि भएको कम्पनीले जनाएको छ।

कम्पनीको EBITDA (Earnings Before Interest, Taxes, Depreciation and Amortization) पनि बढेको छ। चालु आर्थिक वर्षको तेस्रो त्रैमासिकसम्म EBITDA १४ अर्ब ३८ करोड २ लाख रुपैयाँ पुगेको छ, जुन गत वर्षको सोही अवधिको तुलनामा १.३२ प्रतिशतले बढी हो।

यस अवधिमा कम्पनीको वार्षिकीकृत प्रति शेयर आम्दानी (EPS) ४६ रुपैयाँ ४७ पैसा पुगेको छ। गत वर्ष सोही अवधिमा EPS ४२ रुपैयाँ ३० पैसा रहेको थियो। इपीएसमा ९.९ प्रतिशतको वृद्धि भएको कम्पनीले जनाएको छ।

कम्पनीका अनुसार ब्याजदर लगातार घट्दै जाँदा ब्याज आम्दानीमा असर परेको छ। ब्याज आय गत वर्षको तुलनामा ५७ करोड ६६ लाख रुपैयाँ अर्थात् २०.५७ प्रतिशतले घटेको छ। तर GSM सेवातर्फको राजस्व भने ५७ करोड ७४ लाख रुपैयाँ अर्थात् २.७६ प्रतिशतले बढेको छ।

यस्तै, ह्रासकट्टी खर्चमा कमी आउँदा कम्पनीको नाफामा सकारात्मक प्रभाव परेको छ। ह्रासकट्टी खर्च गत वर्षको तुलनामा ३८ करोड ६९ लाख रुपैयाँ अर्थात् ८.४६ प्रतिशतले घटेको कम्पनीले जनाएको छ।

Leave Your Comment

Related News