काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूचीकृत सिमेन्ट कम्पनीहरुले चालु आर्थिक वर्ष २०८२/८३ को तेस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेका छन् । यस अवधिमा अधिकांश कम्पनीहरुले नाफा कमाउन सफल भएपनि केही कम्पनीहरु वित्तीय दबाबमा परेका छन् ।
समग्रमा हेर्दा उद्योग अझै सम्भावनायुक्त देखिए पनि उत्पादन लागत वृद्धि तथा बजार प्रतिस्पर्धाले कम्पनीहरुको नाफामा प्रत्यक्ष प्रभाव पारेको देखिन्छ । यस अवधिमा केही कम्पनीहरुले उत्साहजनक नाफा कमाएका छन् भने केही कम्पनीहरु उच्च वित्तीय लागतका कारण दबाबमा परेका छन्। समग्रमा उद्योगको कारोबार सकारात्मक देखिए पनि लागत र ऋण व्यवस्थापनले कम्पनीहरुको नतिजामा ठूलो प्रभाव पारेको देखिन्छ ।
चुक्ता पुँजी
शिवम् सिमेन्ट्सको चुक्ता पुँजी सबैभन्दा धेरै ५ अर्ब ५९ करोड रुपैयाँ रहेको छ । त्यसपछि, सर्वोत्तमको ५ अर्ब २२ करोड रुपैयाँ र घोराहीको ५ अर्ब २ करोड रुपैयाँ चुक्ता पुँजी रहेको छ । पाल्पाको चुक्ता पुँजी ३ अर्ब ७५ करोड रुपैयाँ तथा सोनापुरको ३ अर्ब ७ करोड रुपैयाँ रहेको छ । समग्रमा ५ कम्पनीहरुको कुल चुक्ता पुँजी २२ अर्ब ६६ करोड रुपैयाँभन्दा बढी पुगेको छ ।
जगेडा कोष तथा सेयर प्रमियम
सर्वोत्तम सिमेन्टको जगेडा कोषको आकार ५ अर्ब १ करोड रुपैयाँभन्दा बढी पुगेको छ । त्यसपछि, शिवम् सिमेन्ट्सको जगेडामा ४ अर्ब ७७ करोड रुपैयाँ रहेको छ । घोराहीको उक्त कोषमा ३ अर्ब ४५ करोड रुपैयाँ रहेको छ । सोनापुरको २ अर्ब ९८ करोड रुपैयाँ जगेडामा राखेको छ भने पाल्पाको जगेडा कोषमा १ अर्ब १० करोड रुपैयाँ रहेको छ ।
सञ्चालन आम्दानी
सर्वोत्तम सिमेन्टले सबैभन्दा धेरै सञ्चालन आम्दानी गरेको छ । कम्पनीले ९ महिनामा ७ अर्ब रुपैयाँभन्दा बढी आम्दानी गरेको छ । शिवम् सिमेन्ट्सले ४ अर्ब ९५ करोड रुपैयाँ आम्दानी गरेको छ । भने घोराहीले ३ अर्ब ५५ करोड आम्दानी गरेको छ । पाल्पाले ३ अर्ब ४० करोड र सोनापुरले १ अर्ब ७६ करोड रुपैयाँ आम्दानी गरेका छन् । समग्रमा ५ कम्पनीहरुको सञ्चालन आम्दानी २० अर्ब ६८ करोड रुपैयाँभन्दा बढी पुगेको छ।
नाफा
९ महिनामा सबैभन्दा धेरै नाफा कमाउनेमा सर्वोत्तम सिमेन्ट अगाडि छ । यसले चैतसम्म ९० करोड ५८ लाख रुपैयाँ खुद नाफा कमाएको छ । कम्पनीको उच्च बिक्री तथा सन्तुलित वित्तीय खर्चले नाफा बढाउन मद्दत गरेको देखिन्छ । शिवम् सिमेन्ट्सले ६१ करोड ९१ लाख रुपैयाँ नाफा कमाएको छ । सोनापुरले २२ करोड ६१ लाख र पाल्पाले ५ करोड ७३ लाख नाफा आर्जन गरेको छ ।
यसैबीच घोराही सिमेन्ट भने घाटामा गएको छ । कम्पनीले १५ करोड ८६ लाख रुपैयाँ घाटा व्यहोरेको छ । कम्पनीको आम्दानी राम्रो भए पनि वित्तीय लागत बढी रहेकाले नतिजा नकारात्मक बनेको देखिन्छ ।

पछिल्लो समय नेपालको सिमेन्ट उद्योग विभिन्न आन्तरिक तथा बाह्य कारणले दबाबमा परेको देखिन्छ। निर्माण क्षेत्रमा आएको सुस्तता, कच्चा पदार्थको मूल्यवृद्धि, बजार मागमा कमी तथा अन्तर्राष्ट्रिय परिस्थितिको प्रभावले उद्योगको उत्पादन, बिक्री र नाफामा प्रत्यक्ष असर पारेको छ ।
विशेष गरी आर्थिक गतिविधि अपेक्षाअनुसार चलायमान हुन नसक्दा सिमेन्ट कम्पनीहरुले चुनौतीपूर्ण अवस्था सामना गरिरहेका छन् । हाल देशभर निजी तथा सरकारी निर्माण कार्यको गति सुस्त भएको छ । लगानीकर्तामा देखिएको अन्योल तथा घरजग्गा कारोबारमा आएको मन्दीका कारण नयाँ भवन तथा पूर्वाधार निर्माण अपेक्षाकृत कम भएको छ ।
यद्दपि, केही ठूला तथा व्यवस्थापनमा बलिया कम्पनीहरुले बजार विस्तार, खर्च नियन्त्रण तथा वित्तीय व्यवस्थापनमार्फत नाफा जोगाउन सफल भएका छन् । तर उच्च ऋणभार भएका कम्पनीहरु भने ब्याज खर्च र कम मागका कारण बढी प्रभावित देखिएका छन्।


