काठमाडौं । विश्वकै सबैभन्दा ठूलो सार्वजनिक सेयर निष्कासन (आईपीओ) ल्याउने तयारीमा रहेको एलन मस्क नेतृत्वको अन्तरिक्ष तथा स्याटेलाइट कम्पनी SpaceX (स्पेसएक्स) ले आफ्नो आईपीओ समयतालिका अघि सारेको छ । कम्पनीले करिब ७५ अर्ब डलर उठाउने लक्ष्यसहित आगामी जुन १२ देखि नास्डाकमा कारोबार सुरु गर्ने तयारी गरेको रोयटर्सले जनाएको छ ।
कम्पनीले ‘एसपीसीएक्स’ टिकरमार्फत कारोबार गर्नेछ । कम्पनीले आगामी साताभित्र आफ्नो प्रोसपेक्टस सार्वजनिक गर्ने, जुन ४ देखि रोडशो सुरु गर्ने र जुन ११ मा आईपीओ मूल्य निर्धारण गर्ने योजना बनाएको छ।
यसअघि आईपीओ प्रक्रिया जुन अन्तिम सातातिर हुने अनुमान गरिएको थियो । तर अमेरिकी सेक्युरिटिज एन्ड एक्सचेन्ज कमिसन (एसईसी) बाट अपेक्षाभन्दा छिटो समीक्षा प्रक्रिया सम्पन्न भएपछि कम्पनीले समयतालिका अघि सारेको बताइएको छ।
SpaceX (स्पेसएक्स) ले करिब १.७५ ट्रिलियन डलर मूल्यांकनमा आईपीओ ल्याउन खोजेको छ। यो सफल भएमा साउदी अरामकोको रेकर्ड तोड्दै इतिहासकै सबैभन्दा ठूलो आईपीओ बन्नेछ । कम्पनीको मूल्यांकन फेब्रुअरीमा xAI (एक्सएआई) सँगको मर्जरपछि तय गरिएको १.२५ ट्रिलियन डलरभन्दा उल्लेखनीय रूपमा माथि पुगेको हो ।
आईपीओअघि कम्पनीले ५ बराबर १ को अनुपातमा स्टक स्प्लिट पनि गरेको छ। यससँगै प्रतिसेयर मूल्य करिब ५२६ डलरबाट घटेर १०५ डलर आसपास पुगेको छ । यसलाई खुद्रा लगानीकर्तालाई आकर्षित गर्ने रणनीतिक कदमका रूपमा हेरिएको छ।
एलन मस्कले भने आफूले कम्पनीका कुनै पनि सेयर नबेच्ने स्पष्ट पारेका छन्। सामाजिक सञ्जाल एक्समा प्रतिक्रिया दिँदै उनले “म कुनै पनि सेयर बेचिरहेको छैन” बताएका हुन्।
विश्लेषकहरूका अनुसार नास्डाकमा सूचीकृत हुने निर्णय पनि रणनीतिक रूपमा महत्वपूर्ण छ। नास्डाकले हालै ल्याएको ‘फास्ट इन्ट्री’ नियमका कारण ठूलो बजार मूल्य भएका नयाँ कम्पनीहरूलाई छिट्टै Nasdaq-100 सूचकांकमा समावेश गर्न सकिने व्यवस्था गरिएको छ। यसले इन्डेक्स ट्र्याक गर्ने फन्डहरूबाट अर्बौं डलर बराबरको लगानी आकर्षित गर्न सक्ने अपेक्षा गरिएको छ।
SpaceX (स्पेसएक्स) हाल विश्वव्यापी रकेट प्रक्षेपण बजारमा अग्रणी कम्पनीका रूपमा स्थापित छ। कम्पनीले हजारौं स्टारलिङ्क स्याटेलाइट सञ्चालन गरिरहेको छ भने अमेरिकी अन्तरिक्ष एजेन्सी नासा तथा पेन्टागनसँग पनि सहकार्य गर्दै आएको छ।
यद्यपि, केही विश्लेषकहरूले अत्यधिक मूल्यांकनका कारण आईपीओपछि सेयरमा उच्च उतारचढाव आउन सक्ने चेतावनी दिएका छन्। विगतमा Meta Platforms (मेटा), Alibaba Group (अलिबाबा) तथा Uber Technologies (उबर) जस्ता चर्चित कम्पनीहरूको आईपीओपछि सेयर मूल्य उल्लेखनीय रूपमा घटेका उदाहरणसमेत दिइएको छ।


