काठमाडौं । निलम्बनमा परेपछि भृकुटी स्टक ब्रोकिङ कम्पनीबाट १२ हजारभन्दा बढी लगानीकर्ताले आफ्नो ट्रेडिङ खाता बन्द गरेका छन् । नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार हालसम्म करिब १२ हजार ५०० जना खातावालहरुले ट्रेडिङ अकाउन्ट बन्द गरेका छन् ।
नेपाल धितोपत्र बोर्ड (सेबोन)ले कारबाही गर्नु अघि उक्त ब्रोकरमा ७९ हजार ७१७ जनाको खाता रहेको थियो । तर हाल यो संख्या घटेर ६७ हजार २१७ मा पुगेको छ । अर्थात्, कुल खातावालमध्ये १५.६८ प्रतिशतले ब्रोकर छाडिसकेका छन् । भने करिब ८५ प्रतिशत खाता एक्टिभ छन् ।
नेप्सेका प्रवक्ता मुराहरि पराजुलीका अनुसार लगानीकर्ताले सहज रुपमा खाता बन्द गरेर अन्य ब्रोकरमार्फत कारोबार सुरु गरिरहेका छन् । उनले भने, ‘यदि ब्रोकरले पैसा दिन आनाकानी गरेको वा खाता बन्द गर्न अवरोध गरेको भए हाम्रोमा गुनासो आउँथ्यो, तर अहिलेसम्म त्यस्तो कुनै उजुरी आएको छैन ।’
नेप्सेका अनुसार खाता बन्द गर्ने अधिकांश लगानीकर्ता सक्रिय कारोबारी हुन् । बजारमा नियमित कारोबार गर्ने लगानीकर्ताले जोखिम कम गर्न छिट्टै वैकल्पिक ब्रोकर रोजेको देखिएको छ । तर लामो समयदेखि निष्क्रिय रहेका तथा आइपीओमा मात्र लगानी गर्ने साना लगानीकर्ताले भने अझै खाता बन्द गरेका छैनन् । उनीहरुले दोस्रो बजारमा खासै कारोबार नगर्ने हुँदा खाता बन्द नगरको हुन्छ सक्ने बताइन्छ ।
दिपक भट्टजस्तै अन्य व्यक्तिहरुले पनि भृकुटी स्टकमार्फत उधारोमा धितोपत्र कारोबार गरेको खुलासा
६७ हजारभन्दा बढी खाता अझै भृकुटी स्टकमै सक्रिय देखिनुको अर्को कारण भने डिम्याट प्रणाली हो । नियमअनुसार लगानीकर्ताले दुईवटासम्म डिम्याट खाता खोल्न पाउने व्यवस्था भएकाले धेरैले पुरानो खाता बन्द नगरी नयाँ ब्रोकरमा अर्को खाता खोलेर कारोबार गरिरहेका छन्।
नेप्सेका एक अधिकारीका अनुसार केही लगानीकर्ताले त्यसरी नयाँ खाता खोलेर डीपी टु डीपी प्रणालीमार्फत आफ्नो सेयर अर्को डिम्याट अकाउन्टमा सारेको हुनसक्छ । ‘केही लगानीकर्ताले नयाँ खाता खोलेर पुरानोबाट सेयर ट्रान्सफर गरेको हुन सक्छ, उनले भने ।
भृकुटी स्टक ब्रोकिङ्गको अनुमति निलम्बन, कम्पनीलाई दुई प्रमुख शर्तहरू पुरा गर्न निर्देशन
भृकुटी स्टक ब्रोकिङमाथि नेपाल धितोपत्र बोर्डले धितोपत्र बजारका विभिन्न नियम उल्लंघन गरेको आरोप लगाउँदै ६ महिनाका लागि निलम्बन गर्ने निर्णय गरेको छ । अनुसन्धानमा कम्पनीले ग्राहकसँग अग्रिम रकम नलिई कारोबार गराएको, अनिवार्य मार्जिन नियम उल्लंघन गरेको तथा उधारोमा ठूलो परिमाणमा सेयर किनबेच गराएको पाइएको छ।
यो प्रकरण व्यवसायी दीपक भट्टसँग सम्बन्धित विवादास्पद कारोबारपछि थप चर्चामा आएको हो । अनुसन्धानका क्रममा अन्य केही व्यक्तिले पनि उधारोमा करोडौँ रुपैयाँ बराबरको सेयर किनबेच गरिएको देखिएको छ ।
धितोपत्र बजारमा मिलेमतोको खेल: अर्बौँको कारोबारमा गम्भीर अनियमितता उजागर


