CLI
Global College

धितोपत्र बजारमा मिलेमतोको खेल: अर्बौँको कारोबारमा गम्भीर अनियमितता उजागर

काठमाडौं । नेपालको धितोपत्र बजारमा गम्भीर अनियमितता सार्वजनिक भएको छ, जहाँ दिपक भट्ट र भृकुटी स्टक ब्रोकिङ्ग कम्पनी प्रा.लि.को संलग्नतामा नियम उल्लङ्घन गर्दै शेयर मूल्य कृत्रिम रूपमा बढाइएको पाइएको छ। बोर्डले व्यवसायी दिपक भट्टले गरेको धितोपत्र कारोबारमा गम्भीर अनियमितता भएको निष्कर्ष निकाल्दै प्रारम्भिक जाँचबुझ प्रतिवेदन तयार पारेको छ ।

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको पत्राचारपछि अनुसन्धान भएको हो । बोर्डले भट्टले धितोपत्र ऐनविपरीत कृत्रिम कारोबार गरी बजार प्रभावित पारेको प्रतिवेदनमा उल्लेख गरेको छ । भट्टले अर्बौँको धितोपत्र खरिद गर्दा पनि रकम भुक्तानी नगरेको देखिएको छ।

जाँचका क्रममा भृकुटी स्टक ब्रोकिङ्ग कम्पनीले दिपक भट्टलाई धितोपत्र खरिद गर्न आवश्यक अग्रिम रकम (कम्तीमा २५ प्रतिशत) नलिई कारोबार गर्न दिएको देिएको छ । धितोपत्र कारोबार सञ्चालन विनियमावली, २०७५ अनुसार यस्तो अग्रिम रकम अनिवार्य हुन्छ, तर यस नियमको पूर्ण रूपमा उल्लङ्घन गरिएको पाइयो।

यसका साथै, कारोबारको राफसाफ तथा फछ्यौट (T+2) समयमै भएको देखिए पनि खरिदकर्ताबाट रकम लिने र विक्रेतालाई दिने प्रक्रिया सही रूपमा पूरा गरिएको थिएन। यसले धितोपत्र व्यवसायी नियमावली, २०६४ को उल्लङ्घन भएको स्पष्ट देखाउँछ।

दिपक भट्टले २०८२ सालको साउनदेखि फागुनसम्म करिब ३ अर्ब ८० करोड रुपैयाँ बराबरको धितोपत्र खरिद गरेका थिए भने करिब ९३ करोड रुपैयाँ बराबरको बिक्री गरेका थिए। तर  उनले यो अवधिमा ब्रोकिङ कम्पनीलाई कुनै रकम भुक्तानी गरेका थिएनन्।

हालसम्म पनि करिब २ अर्ब ८९ करोड रुपैयाँ बक्यौता रहेको देखिन्छ। यस्तो अवस्थामा पनि उनलाई उधारोमा कारोबार गर्न अनुमति दिनु आफैंमा गम्भीर शंका उत्पन्न गर्ने विषय हो।

अर्को महत्वपूर्ण पक्ष भनेको शेयर मूल्य कृत्रिम रूपमा बढाइएको हो। दिपक भट्ट र सम्बन्धित संस्थाहरूले मिलेमतोमा नेपाल रिइन्स्योरेन्स कम्पनी (NRIC) को शेयर मूल्य बढाउने योजना बनाएको देखिन्छ। उदाहरणका लागि, केही महिनाको अवधिमा NRIC को शेयर मूल्य करिब १,४६१ रुपैयाँबाट बढेर १,६८६ रुपैयाँसम्म पुगेको थियो।

यो वृद्धि प्राकृतिक बजार माग–आपूर्तिको कारण नभई योजनाबद्ध रूपमा गरिएको देखिन्छ, जसले अन्य लगानीकर्तालाई झुक्याउने काम गरेको छ।

यस योजनामा दिपक भट्टसँग सम्बन्धित विभिन्न कम्पनीहरू पनि संलग्न रहेको देखिएको छ। उनले आफू नै प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा नियन्त्रण गर्ने कम्पनीहरू जस्तै हिमालयन रिइन्स्योरेन्स, गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स, क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्स र प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्स कम्पनीहरूबीच ऋणपत्र खरिद–बिक्री गरेका थिए।

NBLD85 ऋणपत्र उनले कम मूल्यमा खरिद गरी आफ्नै प्रभावमा रहेका कम्पनीहरूलाई बढी मूल्यमा बिक्री गरेका थिए। यसबाट उनले व्यक्तिगत लाभ लिएका मात्र होइनन्, बजारमा मूल्य वृद्धि देखाएर अन्य लगानीकर्तालाई भ्रममा पार्ने काम गरेका थिए।

त्यस्तै SBLD89, NIMBD90 र SBID83 जस्ता ऋणपत्रहरूमा पनि यस्तै प्रकारको गतिविधि देखिएको छ। उनले एउटै समूहभित्रका कम्पनीहरूबीच बारम्बार कारोबार गराएर मूल्य बढाउने प्रयास गरेका थिए। यसले धितोपत्र सम्बन्धी ऐन, २०६३ को विभिन्न दफा—विशेष गरी ९४, ९५, ९६ र ९८—को उल्लङ्घन गरेको देखिन्छ।

अनुसन्धानमा संलग्न व्यक्तिहरू र संस्थाहरूले एउटै IP Address प्रयोग गरेर अनलाइन ट्रेडिङ प्रणाली (TMS) चलाएको पाइयो। यसले सबै कारोबार एउटै व्यक्ति वा समूहले नियन्त्रण गरेको स्पष्ट संकेत दिन्छ। दिपक भट्ट, सुलभ अग्रवाल, विभिन्न इन्स्योरेन्स कम्पनीहरू तथा लगानी कोषहरू सबैले एउटै नेटवर्कबाट कारोबार गरेको देखिनु गम्भीर विषय हो।

यसैबीच, शुभी अग्रवाल, राजबहादुर शाह र ऋषिराज मोरले पनि अग्रिम रकम नदिई शेयर कारोबार गरेको, पूरा रकम नतिरी शेयर प्राप्त गरेको र यसमार्फत शेयर मूल्य बढाउन सहयोग गरेको देखिएको छ। यसले बजारमा गलत संकेत प्रवाह गरी अन्य लगानीकर्तालाई प्रभावित पारेको निष्कर्ष निकालिएको छ।

कतिपय कारोबारहरूमा वास्तविक स्वामित्व परिवर्तन नै भएको थिएन। हिमालयन रिइन्स्योरेन्स, हिमालयन क्यापसर्भ, हिमालय सेक्युरिटिज बैंकर लगायतका संस्थाहरूबीच गरिएको कारोबार केवल देखावटी भएको पाइएको छ । यस्ता कारोबारले बजारमा झुट्टा गतिविधि देखाएर मूल्य बढाउने काम गर्छ, जुन कानूनविपरीत हो।

यसैगरी NLG इन्स्योरेन्स कम्पनीको शेयर मूल्य बढाउन पनि विभिन्न संस्था र व्यक्तिहरूको संलग्नता रहेको देखिएको छ। उनीहरूले योजनाबद्ध रूपमा शेयर खरिद–बिक्री गरेर मूल्य बढाएका थिए। गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स (GMLI) को शेयरमा पनि यस्तै प्रकारको अनियमितता गरिएको पाइएको छ ।

समग्रमा हेर्दा, यो घटनाले नेपालको धितोपत्र बजारमा रहेको नियमन कमजोरी, मिलेमतो र अनियमितताको गम्भीर चित्र प्रस्तुत गर्छ। केही सीमित व्यक्तिहरू र संस्थाहरूले आफ्नो स्वार्थका लागि बजार प्रणालीलाई दुरुपयोग गरेका छन्, जसले आम लगानीकर्ताको विश्वासमा चोट पुर्‍याएको छ।

यस सम्बन्धमा अनुसन्धान समितिले  संलग्न व्यक्तिहरू—दिपक भट्ट, संदिप चाचान, शुभी अग्रवाल लगायत—र सम्बन्धित संस्थाहरूविरुद्ध कानूनी कारबाही गर्नु पर्ने स्पष्ट सुझाव दिएको छ ।  धितोपत्र सम्बन्धी ऐन, २०६३ को दफा १०३ अनुसार थप अनुसन्धानका लागि यो मुद्दा प्रहरी प्रधान कार्यालयमा पठाउन सिफारिस गरिएको छ।

Leave Your Comment

Related News