काठमाडौं । इरान र इजरायलबीच जारी युद्ध अन्त्य गर्ने प्रयास तीव्र बनेको छ। अमेरिका र इरानबीच युद्ध अन्त्यका लागि भइरहेको वार्तामा प्रगति भएको संकेत देखिएपछि अन्तर्राष्ट्रिय समुदायको ध्यान पुनः पश्चिम एसियातर्फ केन्द्रित भएको छ ।
अमेरिकी विदेशमन्त्री मार्को रुबियोले सोमबार इरानसँग युद्ध अन्त्यसम्बन्धी सम्झौता “आजै सम्भव हुन सक्ने” बताएका छन्। नयाँ दिल्लीमा पत्रकारहरूसँग कुरा गर्दै उनले वार्ता सकारात्मक दिशामा अघि बढिरहेको बताए। यद्यपि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भने हतारमा सम्झौता नगर्न आफ्ना वार्ताकारलाई निर्देशन दिएको बताएका छन्।
अमेरिका र इरानबीच विशेषगरी विश्व व्यापारका लागि महत्वपूर्ण मानिने स्ट्रेट अफ होर्मुज पुनः खुलाउने विषयमा छलफल भइरहेको बताइएको छ। उक्त समुद्री मार्गबाट विश्वको ठूलो हिस्सा तेल तथा ग्यास आपूर्ति हुने भएकाले त्यहाँको अवस्था विश्व अर्थतन्त्रसँग प्रत्यक्ष रूपमा जोडिएको छ।
इरानले भने हाल आणविक कार्यक्रमभन्दा पनि युद्ध अन्त्यको विषयमा केन्द्रित भएर छलफल भइरहेको स्पष्ट पारेको छ । इरानी विदेश मन्त्रालयका प्रवक्ताले हाल पाकिस्तानमा प्रतिनिधिमण्डल पठाउने योजना नरहेको पनि बताएका छन् ।
यसबीच इजरायली सेनाले दक्षिण लेबनानका १० गाउँका बासिन्दालाई तत्काल घर छाड्न चेतावनी दिएको छ। इजरायलले हिजबुल्लाहविरुद्ध थप सैन्य कारबाहीको तयारी गरिरहेको जनाएको छ। पछिल्ला हवाई आक्रमणमा लेबनानमा थप मानवीय क्षति भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन्।
युद्धविरामको सम्भावनाबीच विभिन्न देशहरूले कूटनीतिक पहल तीव्र बनाएका छन्। साउदी अरब, कतार, संयुक्त अरब इमिरेट्स, इजिप्ट, जोर्डन, बहराइन, टर्की र पाकिस्तानका प्रतिनिधिहरूले अमेरिकी पक्षसँग छलफल गरेका छन्।
यता चीनका राष्ट्रपति सी जिनपिङले सोमबार बेइजिङमा पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफसँग भेटवार्ता गरेका छन्। पश्चिम एसियाको विकसित घटनाक्रमबारे पनि उनीहरूबीच छलफल भएको अनुमान गरिएको छ।
लगातार बढ्दो द्वन्द्वका कारण तेल बजार, क्षेत्रीय सुरक्षा तथा विश्व राजनीतिमा असर परेको छ। यद्यपि अमेरिका र इरानबीचको वार्ताले सकारात्मक निष्कर्ष निकालेमा युद्ध अन्त्यतर्फ महत्वपूर्ण कदम अघि बढ्ने अपेक्षा गरिएको छ।


