CLI

स्वदेशमै उच्च शिक्षा पढ्ने विद्यार्थी १०.९ प्रतिशतले बढे

काठमाडौं । नेपालमा स्वदेशमै उच्च शिक्षा अध्ययन गर्ने विद्यार्थीको सङ्ख्यामा उल्लेखनीय वृद्धि भएको छ। आर्थिक वर्ष २०८०/८१ को तुलनामा चालु आर्थिक वर्ष २०८१/८२ मा उच्च शिक्षा अध्ययन गर्ने विद्यार्थीको सङ्ख्या १० दशमलव ९ प्रतिशतले बढेको आर्थिक सर्वेक्षण २०८२/८३ ले देखाएको छ।

सर्वेक्षणअनुसार गत आर्थिक वर्ष ६ लाख ७२ हजार ४ सय ८९ विद्यार्थी उच्च शिक्षामा अध्ययनरत रहेकामा चालु आर्थिक वर्ष यो सङ्ख्या बढेर ७ लाख ४५ हजार ७ सय ७० पुगेको छ ।

उच्च शिक्षा अध्ययनरत विद्यार्थीमध्ये व्यवस्थापन सङ्कायमा सबैभन्दा बढी आकर्षण देखिएको छ। कुल विद्यार्थीमध्ये ५० दशमलव ५ प्रतिशत व्यवस्थापन सङ्कायमा अध्ययनरत छन् भने कृषितर्फ सबैभन्दा कम शून्य दशमलव १५ प्रतिशत विद्यार्थी रहेका छन्।

त्यस्तै, व्यवस्थापन, शिक्षाशास्त्र तथा मानविकी एवं समाजशास्त्र सङ्कायमा अध्ययन गर्ने विद्यार्थीको हिस्सा करिब ८० प्रतिशत रहेको तथ्याङ्कले देखाएको छ।

केन्द्रीय तथा प्रादेशिक विश्वविद्यालय, स्वास्थ्य विज्ञान प्रतिष्ठान र विदेशी सम्बन्धन प्राप्त क्याम्पसमा अध्ययन गर्ने विद्यार्थीमध्ये त्रिभुवन विश्वविद्यालयको हिस्सा सबैभन्दा ठूलो रहेको छ। त्रिविअन्तर्गत आङ्गिक क्याम्पसमा ४७ दशमलव ९ प्रतिशत र सम्बन्धन प्राप्त क्याम्पसमा २७ दशमलव ४ प्रतिशत विद्यार्थी अध्ययनरत रहेका छन्। यसरी कुल ७५ दशमलव ३ प्रतिशत विद्यार्थी त्रिभुवन विश्वविद्यालयसँग आबद्ध रहेका छन्।

अन्य विश्वविद्यालय तथा कार्यक्रमअन्तर्गत भने २४ दशमलव १ प्रतिशत विद्यार्थी अध्ययनरत छन्। सरकारी लगानीको हिसाबले पनि त्रिभुवन विश्वविद्यालयमा सबैभन्दा बढी ६७ दशमलव ५ प्रतिशत लगानी रहेको छ भने अन्य विश्वविद्यालय तथा कार्यक्रमको हिस्सा ३२ दशमलव ५ प्रतिशत रहेको छ।

हाल नेपालमा १५ केन्द्रीय र ६ प्रादेशिक गरी २१ विश्वविद्यालय सञ्चालनमा रहेका छन्। साथै सङ्घअन्तर्गत ६ र प्रदेशअन्तर्गत २ गरी कुल ८ स्वास्थ्य विज्ञान प्रतिष्ठान सञ्चालनमा रहेको आर्थिक सर्वेक्षणमा उल्लेख छ।

Leave Your Comment

Related News