CLI

अमेरिका र इरान शान्ति सम्झौतामा नजिक, होर्मुज मार्ग खुल्ने संकेतपछि तेलको मूल्य घट्यो

काठमाडौं ।  अमेरिका र इरानबीच युद्धविराम लम्बिने संकेत देखिएको छ । रोटर्सका अनुसार दुवै देशबीच ६० दिनका लागि युद्धविराम थप विस्तार गर्ने प्रारम्भिक समझदारी बनेको छ। यद्यपि उक्त सहमतिलाई अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अन्तिम स्वीकृति दिन बाँकी रहेको बताइएको छ।

यदि यो सहमति औपचारिक रुपमा लागू भयो भने यसले मध्यपूर्वमा बढ्दो तनाव कम गर्न महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ। विशेषगरी विश्वकै महत्वपूर्ण समुद्री व्यापारिक मार्गमध्ये एक मानिने होर्मुज जलडमरुमा जहाज आवतजावत सहज हुने सम्भावना देखिएको छ। यो मार्गबाट विश्वको ठूलो परिमाणमा तेल तथा प्राकृतिक ग्यास आपूर्ति हुने भएकाले त्यहाँको अस्थिरताले अन्तर्राष्ट्रिय बजारमा प्रत्यक्ष प्रभाव पार्ने गर्दछ।

सम्झौताअनुसार अमेरिकाले इरानी बन्दरगाहमाथिको केही नाकाबन्दी हटाउने तथा इरानी तेल निर्यातसम्बन्धी केही प्रतिबन्ध खुकुलो पार्ने सम्भावना रहेको जनाइएको छ । त्यसको बदलामा इरानले समुद्री मार्ग सुरक्षित राख्न तथा तनाव कम गर्न सहयोग गर्ने अपेक्षा गरिएको छ । साथै, इरानको आणविक कार्यक्रमलगायत जटिल विषयमा वार्ता निरन्तर जारी रहने बताइएको छ।

अमेरिकी उपराष्ट्रपति जेडी भान्सले वार्ता सकारात्मक दिशामा अघि बढिरहेको प्रतिक्रिया दिएका छन्। उनले “हामी अझै अन्तिम निष्कर्षमा पुगेका छैनौं, तर निकै नजिक छौं” भन्दै आशावादी धारणा व्यक्त गरेका छन्। तर इरानको सरकारी निकट समाचार संस्थाले भने सम्झौताको अन्तिम पाठ अझै तयार नभएको र औपचारिक पुष्टि हुन बाँकी रहेको जनाएको छ ।

युद्धविरामको सम्भावित विस्तारको खबर बाहिरिएसँगै अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घट्न थालेको समाचार पनि सार्वजनिक भएको छ। यसले विश्व अर्थतन्त्रमा केही राहत पुग्ने अनुमान गरिएको छ। तर परिस्थिति पूर्ण रुपमा शान्त भने भइसकेको छैन। हालै पनि दुवै पक्षबीच ड्रोन तथा मिसाइल आक्रमणका घटना भएका छन्, जसले युद्धविराम अझै संवेदनशील अवस्थामा रहेको संकेत गर्दछ।

Leave Your Comment

Related News