CLI

भारतलाई विद्युत् बेच्ने मात्र होइन, एआईसँग जोडेर उच्च प्रतिफल लिन्छौं : स्वर्णिम वाग्ले

काठमाडौं । अर्थमन्त्री स्वर्णिम वाग्लेले कृत्रिम बुद्धिमत्ता (एआई) र डिजिटल पूर्वाधारलाई आर्थिक रूपान्तरणको प्रमुख आधारका रूपमा अघि बढाइएको बताएका छन् । नेपाल आर्थिक पत्रकार संघ (नाफिज) ले आयोजना गरेको बजेटपछिको छलफल कार्यक्रममा बोल्दै उनले  एआई कम्प्युट सेन्टर स्थापना गर्ने योजना अघि बढाइएको जानकारी दिए।

उनका अनुसार उक्त केन्द्रका लागि हजारौं जीपीयू (ग्राफिक्स प्रोसेसिङ युनिट) खरिद गरिनेछ र त्यसमार्फत हजारौं नेपाली उद्यमी, अनुसन्धानकर्ता तथा नवप्रवर्तनकर्तालाई उच्च क्षमताको कम्प्युटिङ पूर्वाधारमा पहुँच उपलब्ध गराइनेछ।

“हामीले केवल तार तानेर भारतलाई विद्युत् बेच्ने मात्र होइन, स्वच्छ ऊर्जालाई एआईसँग जोडेर धेरै गुणा बढी प्रतिफल प्राप्त गर्ने सोच अघि सारेका छौं,” मन्त्री वाग्लेले भने । उनका अनुसार स्वच्छ ऊर्जा र डिजिटल प्रविधिको संयोजनमार्फत उच्च मूल्य सिर्जना गर्ने रणनीति सरकारले अवलम्बन गरेको छ।

उनले अर्थतन्त्रलाई परम्परागत बजेटको आकारमा सीमित गरेर हेर्न नहुने बताउँदै सरकारले ७० देखि ७४ खर्ब रुपैयाँको अर्थतन्त्रलाई कसरी गतिशील बनाउने भन्ने दृष्टिकोणका साथ नीति तथा कार्यक्रम ल्याएको बताए। “हामी राज्यले निजी क्षेत्रलाई कसरी चलायमान बनाउने भन्ने विषयमा केन्द्रित छौं,” उनले भने।

अर्थमन्त्री वाग्लेले हाल बजारमा माग कमजोर रहेको र समग्र आर्थिक गतिविधि सुस्त रहेको स्वीकार गर्दै त्यसलाई चलायमान बनाउन कर प्रोत्साहन (ट्याक्स इन्सेन्टिभ) को नीति अवलम्बन गरिएको बताए। सोही उद्देश्यले सरकारले करिब १५ देखि १६ अर्ब रुपैयाँ बराबरको राजस्व छुट दिने व्यवस्था गरेको उनको भनाइ छ।

बजेटमार्फत १० लाख रुपैयाँसम्मको आयमा आयकर छुटको व्यवस्था गरिएको उल्लेख गर्दै उनले विगतमा ३९ प्रतिशतसम्मको उच्च कर दरले नेपाललाई धेरै कर लगाउने मुलुकका रूपमा नकारात्मक छवि दिएको बताए।

साथे, उनले कर प्रशासनका कारण हजारौं नेपाली व्यवसायी र करदाताहरू समस्यामा परेको उल्लेख गर्दै पुराना कर बक्यौता तथा विवाद समाधानका लागि विशेष व्यवस्था गरिएको जानकारी दिए । “तोकिएको कर तिर्नुहोस्, प्रशासनिक खर्चस्वरूप एक प्रतिशत थप तिर्नुहोस् र नयाँ सुरुआत गरौं भन्ने सोचका साथ हामी अगाडि बढेका छौं,” उनले भने।

उनका अनुसार सरकारले निजी क्षेत्रलाई प्रोत्साहन गर्दै लगानी, नवप्रवर्तन र उत्पादनशील क्षेत्रमा नयाँ ऊर्जा भर्न बजेटमार्फत विभिन्न नीतिगत सुधारहरू अघि बढाएको छ।

Leave Your Comment

Related News