काठमाडौं । प्रतिनिधि सभाअन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले सभापति तथा सदस्यहरूले पालना गर्नुपर्ने आचारसंहिता, २०८३ तयार गरेको छ। नेपालको संविधान, २०७२ तथा प्रतिनिधि सभा नियमावली, २०८३ को भावना अनुरूप समितिका पदाधिकारी र सदस्यहरूको आचरणलाई व्यवस्थित बनाउन आचारसंहिता ल्याइएको हो। बुधबार समितिले १० बुँदे आचारसंहिता जारी गरेको हो ।
आचारसंहितामा हितको द्वन्द्व सम्बन्धी स्पष्ट व्यवस्था गरिएको छ। कुनै सदस्यको व्यक्तिगत, आर्थिक, व्यावसायिक वा पारिवारिक हित समितिमा छलफल हुने विषयसँग सम्बन्धित भएमा त्यसको खुलासा गर्नुपर्ने र त्यस्तो विषयको छलफल तथा निर्णय प्रक्रियाबाट अलग रहनुपर्ने व्यवस्था गरिएको छ।
आचारसंहितामा समितिका सभापति तथा सदस्यहरूले आफ्नो कार्य निष्पक्ष, पारदर्शी र जिम्मेवारीपूर्ण ढंगले सम्पादन गर्नुपर्ने व्यवस्था गरिएको छ। कुनै पनि निर्णय वा गतिविधि व्यक्तिगत स्वार्थ वा अनुचित प्रभावबाट प्रभावित हुन नहुने उल्लेख गरिएको छ।
समितिले राष्ट्रिय हित, जनहित र सार्वजनिक कल्याणलाई प्राथमिकतामा राखेर निर्णय तथा सिफारिस गर्नुपर्ने व्यवस्था गरेको छ। साथै नागरिकलाई प्रदान गरिने सेवाको गुणस्तर सुधार र सार्वजनिक हित प्रवर्द्धनमा विशेष ध्यान दिनुपर्ने उल्लेख छ।
समितिका सदस्यहरूले एकअर्काप्रति सम्मानजनक व्यवहार गर्नुपर्ने, बैठकमा संसदीय मर्यादा र शिष्टाचार कायम राख्नुपर्ने तथा समयसीमाभित्र रहेर आफ्ना धारणा प्रस्तुत गर्नुपर्ने प्रावधान पनि समेटिएको छ।
त्यसैगरी समितिमा छलफल भएका संवेदनशील वा गोपनीय विषयहरू आधिकारिक निर्णय नभएसम्म सार्वजनिक गर्न नपाइने व्यवस्था गरिएको छ। सदस्यहरूले नियमित रूपमा बैठकमा उपस्थित भई सक्रिय सहभागिता जनाउनुपर्ने तथा अनुपस्थित हुनुपरेमा पूर्वजानकारी दिनुपर्ने उल्लेख गरिएको छ।
आचारसंहिताअनुसार समितिका निर्णय, निर्देशन र सिफारिसहरू तथ्य, प्रमाण, अध्ययन तथा विज्ञहरूको रायका आधारमा गरिनुपर्नेछ। साथै समितिको कार्यक्षेत्रसँग सम्बन्धित विषयमा अध्ययन र अनुसन्धानमा आधारित छलफलमा सदस्यहरूले योगदान दिनुपर्ने व्यवस्था गरिएको छ।
आचारसंहिताको पालना सबै सदस्यको कर्तव्य हुने उल्लेख गर्दै उल्लंघन भएको खण्डमा समितिले आवश्यक छलफल गरी उपयुक्त सुधारात्मक कदम चाल्न सक्ने व्यवस्था समेत गरिएको छ।


