काठमाडौं । अनुभवी पत्रकार गुणराज लुइँटेल ‘दी डिप्लोम्याट नेपाल’ म्यागजिनको सम्पादकमा नियुक्त भएका छन्।
कूटनीति र सार्वजनिक नीति केन्द्रित प्रकाशनका रूपमा परिचित उक्त म्यागजिनले लुइँटेलको नियुक्तिलाई आफ्नो सम्पादकीय यात्रा र संस्थागत विकासका लागि महत्वपूर्ण कदमका रूपमा लिएको छ।
तीन दशकभन्दा बढी समय पत्रकारितामा सक्रिय लुइँटेलले राजनीतिक रिपोर्टिङ, सुशासन, सार्वजनिक नीति विश्लेषण तथा सम्पादकीय नेतृत्वमा लामो अनुभव हासिल गरेका छन्। उनले विभिन्न अग्रणी राष्ट्रिय सञ्चार संस्थामा उच्च सम्पादकीय जिम्मेवारी सम्हालिसकेका छन्।
‘दी डिप्लोम्याट नेपाल’ले उनको सम्पादकीय नेतृत्वले प्रकाशनलाई स्वतन्त्र, सन्तुलित र जिम्मेवार पत्रकारिताको दिशामा थप सुदृढ बनाउने विश्वास व्यक्त गरेको छ।
नियुक्तिपछि आयोजित कार्यक्रममा ‘एम्बासडर क्लब नेपाल’, ‘इन्टरनेसनल रिलेसन्स एन्ड ग्लोबल डिप्लोमेसी डाइलग (IRGDD)’ तथा ‘दी डिप्लोम्याट नेपाल’ म्यागजिनकी अध्यक्ष राजदूत डा. शर्मिला पराजुली ढकालले लुइँटेललाई औपचारिक रूपमा स्वागत गरेकी थिइन्।
उनले लुइँटेलको अनुभवले म्यागजिनलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मामिलामा थप मजबुत बनाउने विश्वास व्यक्त गर्दै नेपालको कूटनीतिक छवि र ‘सफ्ट पावर’ प्रवर्द्धनमा योगदान पुग्ने बताइन्।
लुइँटेलले आफूलाई प्रदान गरिएको जिम्मेवारीलाई अवसरका रूपमा लिँदै म्यागजिनलाई थप सशक्त र प्रभावकारी बनाउन टिमसँग मिलेर काम गर्ने प्रतिबद्धता जनाएका छन्। कार्यक्रममा उनलाई खादा लगाएर स्वागत गरिएको थियो।
‘दी डिप्लोम्याट नेपाल’ले आफूलाई नेपालको कूटनीति, सुशासन, अर्थतन्त्र, अन्तर्राष्ट्रिय सम्बन्ध, दिगो विकास तथा व्यापार सम्बन्धी विषयमा केन्द्रित पहिलो कूटनीतिक म्यागजिनका रूपमा परिचित गराउँदै आएको छ।


