काठमाडौं । असार १ गते नाडाका अध्यक्ष सुरेन्द्रकुमार उप्रेतीको नेतृत्वमा गएको एक प्रतिनिधि मण्डलले उपत्यका ट्राफिक प्रहरी कार्यालयका नवनियुक्त प्रमुख सुरेशप्रसाद काफ्लेसँग भेटगरी काठमाण्डौ उपत्यकाको ट्राफिक व्यवस्थापनका सन्दर्भमा देखिएका विभिन्न समस्याहरुका सम्बन्धमा विस्तृत छलफल गरेको छ ।
सो छलफलका क्रममा काठमाण्डौ उपत्यका ट्राफिक प्रहरी कार्यालयका नवनियुक्त प्रमुख काफ्लेले कार्यालय र नाडाविच क्रिएटिभ र दिर्घकालिन उद्धेश्यका विषयहरुमा सहकार्यगरी अघि बढ्नु पर्ने बताए ।
सोही क्रममा उनले पहाडीक्षेत्रमा चल्नु पर्ने ठूला सिसिका बाइकहरु पनि काठमाण्डौं शहरभित्र चल्ने गरेको गुनासो गर्नु हुँदै बाइकको तुलनामा स्कुटरको दुर्घटना कम हुने गरेको तथ्य केलाए । यसै क्रममा उनले नाडाले राजधानीमा ट्राफिक सचेतनामूलक कार्यक्रमहरु सञ्चालन गर्नु पर्ने भन्दै नाडाले एआइए प्रविधियुक्त ट्राफिक लाइट व्यवस्थाका लागि समेत पहल गर्नु पर्ने बताए ।
सो छलफलको क्रममा नाडाका अध्यक्ष उपे्रतीले सो कार्यालयसँग नाडाले विगतमा गरेको सहकार्यबारे चर्चा गरे। सोही छलफलको क्रममा उनले नाडाले आफ्नो आउँँदो ५०औं वार्षिक साधारण सभा अर्थात स्वर्ण उत्सवको सन्दर्भमा असार १३ गते देखि १९ गतेसम्म राजधानीमा विभिन्न कार्यक्रमहरु सहित विशेष सप्ताहव्यापी कार्यक्रम मनाउन लागेको जानकारी दिदै उक्त कार्यक्रमलाई थप भव्य र प्रभावकारी बनाउन काठमाण्डौ उपत्यका ट्राफिक प्रहरी कार्यालयको भूमिका महत्वपूर्ण हुने भएकोले आवश्यक सहयोगका लागि आग्रह समेत गरे ।
यसै क्रममा नाडाका अध्यक्ष उप्रेतीले नाडाले स्टिकर मार्फत ट्राफिक जनचेतनामूलक कार्यक्रम सम्पन्न गर्ने जानकारी समेत दिए ।


