काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री सुनिल लम्सालले ठेकेदारलाई थर्काएको आरोपबारे प्रतिनिधिसभामा स्पष्टीकरण दिएका छन्। उनले आफ्नो उद्देश्य ठेकेदारलाई धम्क्याउने नभई काम सम्पन्न गराउन दबाब दिने रहेको बताएका छन्।
प्रतिनिधिसभामा मन्त्रालयगत बजेटमाथिको छलफलका क्रममा नेकपा (एमाले) का सांसद ऐन महर ले केही दिनअघि पृथ्वी राजमार्गअन्तर्गत धादिङको मुग्लिन–मलेखु खण्डको अनुगमनका क्रममा मन्त्री लम्सालले ‘बिजुलीको पोल नसार्ने ठेकेदारको खुट्टा भाँचिदिन’ आदेश दिएको विषयमा स्पष्टीकरण माग गरेका थिए।
सांसद महरले मन्त्रीको हैसियतमा यस्तो आदेश दिन मिल्ने वा नमिल्ने तथा ठेकेदारलाई मन्त्रालयमा बोलाएर धाकधम्की दिनु कानुनसम्मत हो वा होइन भन्ने प्रश्न उठाएका थिए।
जवाफमा मन्त्री लम्सालले आरोपको सिधा प्रतिवाद नगरी आफ्नो उद्देश्य काम गराउने रहेको बताए।
“ठेकेदार थर्काएको भन्ने कुरा गर्नुभयो। इन्टेन्सन त्यो होइन, इन्टेन्सन नितान्त काम गरोस् भन्ने हो,” उनले भने।
मन्त्री लम्सालले ठेकेदारले काम नगरेमा ठेक्का सम्झौता रद्द गर्नुपर्ने, बैंक ग्यारेन्टी जफत गर्नुपर्ने तथा कानुनी प्रक्रिया अनुसार असुलउपर गर्नुपर्ने अवस्था आउने बताए। त्यस्तो अवस्थामा निर्माण कम्पनी र बैंक दुवैलाई समस्या पर्ने भएकाले सकेसम्म दबाबमार्फत काम गराउन खोजिएको उनको भनाइ थियो।
“उहाँहरूले काम गर्नुभएन भने ठेक्का रद्द गर्नुपर्छ। बैंक ग्यारेन्टी थुत्छ। त्यसपछि असुलउपर हुन्छ। त्यसैले बढीभन्दा बढी दबाब दिएर काम गराउन खोजेको हो,” उनले भने।
उनले ठेक्का लिएका कम्पनीमाथि कडा कारबाही गर्दा विकास निर्माणका काम गर्ने कम्पनीको संख्या झन् घट्न सक्ने तर्क पनि गरे।
“पाँच करोडको परियोजना रद्द भयो भने सबै रकम असुलउपर गर्नुपर्छ। त्यसका कारण कम्पनीलाई उठ्न गाह्रो पर्न सक्छ। त्यसैले हाम्रो उद्देश्य उहाँहरूलाई बचाउँदै काम सम्पन्न गराउने हो,” मन्त्री लम्सालले भने, “कसैलाई गाली गर्न मन छैन। खुरुखुरु काम गरिदिए हामी चुपचाप बस्छौं, खुसी हुन्छौं।”


